संखुवासभामा विप्लव कार्यकर्ता एसएलआरसहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 04 | 05:15 pm 1649

संखुवासभा, असार १९ :  प्रहरीले नेत्र चन्द विक्रम (विप्लव) समूहका एक जना कार्यकर्तालाई एसएलआर सहित पक्राउ गरेको छ । ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत सोमबार संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा खोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र विप्लपव समूहका कार्यकर्ताबीच दोहोरो भिडन्तपछिलुकेर बसेकादोर्जीलाई पक्राउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाका अनुसार दोर्जीको साथबाट एसएलआर राइफल एकथान र त्यसमा प्रयोग हुने गोली ६९ राउण्ड बरामद गरिएको छ । यस्तै, प्रहरीले एलएमजी राइफलमा लाग्ने २० राउन्ड गोली, विस्फोट गराउन प्रयोग गरिने ३४ फिट डेडकर्ड, मोबाइल फोन लगायतका सामाग्री पनि बरामद गरेको छ ।

सोमबार सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र चन्द कार्यकर्ताबीच भिडन्त भएको थियो । भिडन्तमा भने कुनै मानवीय क्षति भएन ।

प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका–१का स्थानीय मानिसहरूसँग चन्द समूहले आधुनिक हातहतियार देखाएर आंतकित पारी मोटो रकम माग्ने गरेका थिए । त्यही सूचनाका आधारमा होयङ्लामा पुगेका प्रहरी गस्ती टोलीलाई उक्त समूहका कार्यकर्ताहरूले गोली फायर गरेको र प्रहरी आफ्नो आत्मरक्षाको लागि जवाफी फायर खोलेको प्रहरीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।चन्दसमूहका कार्यकर्ताहरू भागेर जंगलतर्फ गएको सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा दोर्जीलाई नियन्त्रणमा लिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.