एमालेले ह्वीप उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने

| 2021 May 11 | 07:23 am 1497

काठमाडौं, बैशाख २८ः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।

पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दलसम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने’ प्रस्ट पारेका छन् ।

नेपाल समूहको सोमबार नै बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगरी अनुपस्थित हुने निर्णय गरेको हो । सामूहिक राजीनामा दिने चर्चाबीच नेपाल समूहमै मतभेद भएपछि अनुपस्थित हुने निर्णय भएको थियो ।

अनुपस्थित समानुपातिक सांसदलाई भने कानुनबमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवार जिताउनेबारे नेतृत्व तहमा छलफल भएको स्रोतको दावी छ । ८ समानुपातिक सांसदहरू रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको हो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.