एमसिसि मार्फत के गर्न खोज्दैछ अमेरिका (२)

| 2020 Jul 05 | 05:24 pm 3246

  • बसन्त भुजेल

गुल्मी जिल्लाको बडिघाटमा रहेको झोलुंगे पुलले मेरो बाल मस्तिष्कमा रोचक छाप पारेको छ । यस्तै चार पाँच वर्षको थिएँ होला , उक्त झोलुंगे पुलले मेरो मन तान्यो । डराई डराई म पुलमा गएँ । पुलमा जानु अघि दुई वटा झण्डा देखेँ , एउटा झण्डा नेपालको थियो , अर्को झण्डा कसको हो भन्ने कुरा मेरो बाल मस्तिष्कले भेउ पाएन । घरमा आएपछि सोधेँ । उक्त झण्डा अमेरिकाको रहेछ । अमेरिकी सहयोगमा उक्त पुल बनेको रहेछ । त्यो पुलको सामान लिएर अमेरिकी हेलिकोप्टर तमघास आएको दिन मेरो न्वारन हुँदै रहेछ । गाउँलेहरुले हेलिकोप्टर देखेकै पहिलो पटक, त्यसैले रमिता हुने भइहाल्यो । खाँदा खाँदैको भाग छाडेर गाउँलेहरु हेलिकोप्टर हेर्न दौडेछन् । मेरो न्वारनमा आएका निम्तालुहरु पनि खाँदा खाँदैको टपरीको भात बोकेरै हेलिकोप्टर हेर्न गएका थिए रे । मलाई पछि सम्म भन्थे , यो केटो त कति भाग्यमानी न्वारनकै दिन हेलिकोप्टर देख्न पायो ।

संयोग भनौ वा आफ्नो भाग्य तथा कर्मको फल भनौ, बेलायती सेनामा सेवागर्ने अवसर मलाई मिल्यो, यस क्रममा धेरै देश घुम्ने मात्रै होइन त्यहाँको भौतिक पूर्वाधार निर्माणको प्राविधिक काममा आँफूलाई पनि सरिक गर्ने मौका मिल्यो । त्यतिबेला मैले केटाकेटी हुँदाको त्यो कुरा दिमागमा खेलिरह्यो । अमेरिकीहरुको कति दूरदर्शी निर्णय । बास्तवमा भन्ने हो भने नेपाल जस्तो पहाडी तथा नदीनाला भएको मुलुकका लागि विकासको पहिलो खुड्किलो भनेकै झोलुंगे पुल रहेछ । झोलुुङ्गे पुलले एक ठाउँबाट अर्को ठाउँको दूरी घटाउन समेत ठूलो मद्धत पुर्याउने रहेछ । खासगरी वीपी कोेइराला प्रधानमन्त्री बनेपछि अमेरिकाले नेपालमा सहयोगका लागि चासो बढाएको रहेछ , तर २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद तथा सरकारलाई अपध्वस्त गरेर आफ्नो हातमा शासन सत्ता लिएपछि नेपालमा अमेरिकी सहयोगको चासो कम हुँदै गयो । वीपीको पालामा भएका सहमति कार्यान्वयन बाहेक अमेरिकाले नेपालको विकासमा खासै चासो दिएको देखिँदैन । त्यसको शिकार गुल्मी जिल्ला पनि भएको छ । किनकी राजनीतिक पहुँच नभएका कारण पञ्चायतकालमा गुल्मी पछाडी परेको होइन । गुल्मीका गिरिप्रसाद बुढाथोकी राजा महेन्द्रका अत्यन्त विश्वास पात्र थिए । भूपु सैनिक समेत भएका कारण उनमा उत्तिकै जोश जाँगर पनि थियो । पटक–पटक गरेर उनी ११ वर्ष मन्त्री भए । तर उनले गुल्मीका लागि खासै केही गर्न सकेनन् , किनकी त्यतिबेला राज्यसँग विकासका लागि ढुकुटी ज्यादै थोरै थियो । राजाहरुले बैदेशिक सहयोग त जुटाएका थिए तर त्यो सहयोग पूर्वपश्चिम महेन्द्र राजमार्ग , काठमाडौं पोखरा पृथ्वीराजमार्ग लगायतका विकास निर्माणमै ठिक्क भयो । गुल्मी जिल्ला प्राथमिकतामा पर्ने कुरा भएन । मैले गुल्मीको त उदाहरण मात्रै दिएको हुँ , पहाडका प्राय सबै जिल्लाको हालत गुल्मीको जस्तै थियो पञ्चायतकालभरी । पहाडी क्षेत्र विकासमापछि परेका कारण मानिसहरुको बसाँइ सराँइ तराईमा ह्वात्तै वढ्यो । तराईको खेतीयोग्य जमिन घरैघरले भरियो । उदाहरणका लागि २०२८ सालको जनगणना हेरौं , त्यतिबेला गुल्मीमा २ लाख ६० हजार जनसंख्या थियो । रुपन्देही जिल्लामा २ लाख १२ हजार जनसंख्या थियो । २०६८ सालको जनगणनामा गुल्मीमा त्यो भन्दा पनि कम छ , तर रुपेन्देहीमा ९ लाख नाघ्यो । समानुपातिक विकास नहुनुको दुश्परिणाम हो यो । त्यसैले विकास निर्माणमा दूरदर्शीता चाहिन्छ , त्यस्तो दूरदर्शीता कित वीपी जस्तो राजनेतामा हुन्छ कि त यूरोपेली अमेरिकी मुलुकहरुको अनुभवमा निहित हुन्छ ।

नेपालका लागि अहिले आवश्यक भनेको अमेरिकी आर्थिक सहयोग मात्रै होइन, अमेरिकी अनुभव पनि हो । हालै चर्चामा रहेको एमसिसि परियोजनाका सन्दर्भमा भन्नु पर्दा अमेरिकाले निकै दूरदर्शी ढंगले प्रर्याप्त अध्ययन गरेर ल्याएको हो । जलविद्युतको प्रर्याप्त उत्पादन तथा सुरुङ सडक नै नेपालको दीगो विकास तथा आत्मनिर्भरताको माध्यम हो भन्ने निश्कर्षका साथ यो कार्यक्रम आएको हो । वास्तवमा एमसिसिबाट अमेरिकाले हात झिक्नु भनेको नेपाल फेरी पहिलेकै कहालीलाग्दो दलदलमा फँस्नु हो । भारत र चीन जस्ता शक्ति सम्पन्न राष्ट्रहरुको बीचमा रहेको नेपालका लागि रणनीतिक हिसावले पनि अमेरिकी उपस्थिति जरुरी छ । दूरदर्शी राजनेता वीपीले प्रधानमन्त्री भएकै बेला इजरायललाई नेपाल भित्राउने क्रममा भनेका थिए –‘ मैले इजरायलको नाममा अमेरिकालाई नेपाल भित्राएको हुँ , भोली चीन र भारत मिल्ने छन् , त्यसबेला नेपालका लागि गुहार माग्ने ठाउँ अमेरिका बाहेक अन्यत्र हुने छैन ।’ नभन्दै सन् २०१५ मा भारत र चीनबीच नेपाली भूमी लिपुलेकबाट नाका खोल्ने सम्झौता भयो । भूमी हाम्रो तर नाका खोल्ने सम्झौता भने चीन र भारत बीच , कति ठूलो विडम्वना । हामीले आवाज त उठायौं तर सुनुवाई भएन । यतिबेला एमसिसि सम्झौता हुनु र लिपुलेकलाई समेटेर नक्शा जारी गर्ने हिम्मत हामीमा आउनु सम्योग मात्रै होइन । यसैगरी भारतले केही वर्ष अघि जलविद्युत आयत सम्वन्धी नीति बनायो । त्यो नीतिमा उल्लेख गर्यो –‘ आफ्नो देशको ५१ प्रतिशत शेयर भएका विदेशी आयोजनाको मात्रै विजुली खरिद गर्ने ।’ यो निर्णयले नेपालमाथि आपत्ति आइलाग्यो । कि त निर्यातका लागि जलविद्युत उत्पादन नै नगर्ने , निर्यात गर्ने भए नेपालका नदी नालामा ५१ प्रतिशत शेयर भारत तथा भारतीय कम्पनीहरुलाई दिनु पर्ने भयो । यो प्रावधान हटाउन नेपालले निकै धेरै पटक भारत सँग अनुनय विनय गर्यो ,तर सुनुवाई भएन । जब अमेरिका सँग नेपालले एमसिसि सम्झौता गर्यो त्यस पछि नेपालको हकमा त्यो नीति परिवर्तन गर्न भारत वाध्य भयो । एमसिसि सम्झौताकै क्रममा अमेरिकाले नेपालमा जलविद्युत उत्पादन गर्ने र भारतमा विक्रि गर्ने प्रावधान राखिदिएका कारण आफ्नो नीति सच्याउन भारत वाध्य भयो । भारतको दादागिरि तथा हेपाहा प्रवृत्ति नेपालका लागि हो अमेरिका सँग यो प्रवृत्ति देखाउने हिम्मत भारतले गर्दैन ।

एमसिसि विधेयक तथा सम्झौताको म्याद यही असार १६ गते समाप्त भयो । संसदको वर्षे अधिवेशन प्रधानमन्त्री ओलीले अनपेक्षित ढंगले अन्त्य गराए । आफ्नै पार्टीद्धारा अप्ठ्यारो पारिएका कारण संसद अधिवेशनको अन्त्य गर्न प्रधानमन्त्री ओली वाध्य भएका हुन् । तर एमसिसिको आवश्यकता र महत्व उनले राम्ररी बुझेका छन् । यो मामिलामा सरकारलाई हर तरहले सहयोग गर्ने वचन प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई दिइसकेका छन् । यसका लागि कांग्रेस सभापति देउवाले गत बुधवार बिहान र बेलुका दुई पटकसम्म वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई आस्वास्थ पारेका थिए । संयुक्त राज्य अमेरिकाले पनि सदासयता देखाइरहेको छ । अमेरिकी परराष्ट्र मन्त्री पाम्पियोले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेरै नआत्तिन आग्रह गरेको समाचार आएको छ । कांग्रेस सभापति देउवा र अमेरिकी विदेश मन्त्री पाम्पियोबीच पनि एमसिसिका विषयमा टेलिफोन संवाद भएको समाचार मिडियामा आएको छ । यो अत्यन्त सकरात्मक पक्ष हो, तर सत्तारुढ कम्युनिष्ट पार्टीको ठुलो तप्का एमसिसिको विपक्षमा छ । जनता गरिव र देश अविकसित रहे मात्रै कम्युनिष्ट पार्टी फष्टाउँछ भन्ने मान्यता बोकेको जुन तप्का छ , त्यो तप्का एमसिसिको खिलापमा छ । अब प्रधानमन्त्री ओलीले त्यो तप्काको षडयन्त्र चिर्न सक्नु पर्छ । यसका लागि उनी यथार्थ कुरा लिएर जनताबीच जानु जरुरी छ । यतिवेला जनता प्रधानमन्त्री ओली सँग खुशी छैनन् । प्रधानमन्त्री ओलीमा अहंकार बढेको महशुस जनताले गरेका छन् । त्यसैले उनले आफ्नो कार्यशैली परिर्वतन गर्नु जरुरी छ । अहंकारले आँफैलाई भष्म गर्ने हो । क्रमशः

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.