सुनसरी, फागुन २५ः जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिका १ का २१ वर्षीय जयनारायण उराउ, बराहक्षेत्र नगरपालिका १० का ३६ वर्षीय गणेश यादव र भोक्राहा नरसिंह गाउँपालिका ३ का २२ वर्षीय सन्तोष मण्डल रहेका छन् ।
को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाईकल तथा साईकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।
यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ गैरीगाउँ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिर्तामोड नगरपालिका ४ का ३० वर्षीय दिलिपकुमार माझीलाइ पक्राउ गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ५ वटा, फेनारगन ५ वटा र डाईजिपाम ५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका माझीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
त्यसैगरी झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ स्थित बसपार्क इलाकाबाट एपीएफ टोलीले करीव ५ लाख ७ हजार रुपैयाँ बराबरको मिल्रीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ ।
उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।