एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

| 2021 Feb 09 | 09:35 pm 2489

काठमाडौं, माघ २७ः सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित पूर्व–पश्चिम लोकमार्गबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको सुखिपुर नगरपालिका ७ बलही बस्ने २२ बर्षीय जितेन्द्र यादवलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । लागूऔषध खरिद विक्री गरिरहेको अवस्थामा उनलाई एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ४५ वटा, कोरेक्स दुई बोतल र सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले त्यसवेला निज यादवको साथबाट ३८ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी सर्लाही जिल्लाको लालबन्दी नगरपालिका २ मलंगवाबाट एपीएफ टोलीले ७५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ४१ वर्षीय सुरेन्द्र यादव रहेका छन् । भारतीय मोटरसाईकलमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट माघ २७ गते एपीएफ टोलीले तीन पत्ता नाइट्रोभेट र दुई बोतल वीनसिरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ठोरी गाउँपालिका ३ बस्ने २६ वर्षीय अमृतबहादुर बस्नेत छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

सालको गोलिया काठ बरामद
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ स्थित रामापुरबाट एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । उक्त ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको एक सय २० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय मुर्गीयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.