एटीएमबाट पैसा चोरी प्रकरण : अध्ययनका लागि विदेशी टोली आयो

रिपोर्ट नेपाल | 2019 Sep 05 | 03:27 pm 2723

काठमाडौं, १९ भदौ : एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल आएको छ । फरेन्सिक भनिने उक्त टोली सिङगापुरबाट बुधबार राति नेपाल आएको हो ।

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहका उक्त टोली नेपाल आएको हो । टोलीले बिहीबारदेखि नै काम थाल्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले बताए ।

‘फरेन्सिक टोलीको अध्ययन प्रतिवेदनपछि सबै पत्ता लाग्नेछ,’ क्षेत्रीले भने, ‘दुईजनाको उक्त टोली ३/४ दिनसम्म नेपालमा बस्नेछ ।’ टोलीले अध्ययनका क्रममा केही नयाँ भेटाए त्यसको ‘ल्याब टेस्ट’ का लागि सिंगापुर पठाइने उनले बताए ।

यो टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ पत्ता लगाउनेछ । त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने नेप्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए ।

उक्त घटनाको अध्ययन गर्न विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’ बाट पनि टोली नेपाल आउने भएको छ । टोली बिहीबार नेपाल आउने हो । फरेन्सिक र भिसा दुवै टोलीको अध्ययन पनि घटनाको वास्तविक सत्य तथ्य पत्ता लाग्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।

घटनाको अध्ययन गर्न राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मि श्रको संयोजकत्वका एक समिति गठन गरेको थियो । समितिले तीन दिनभित्र (बुधबार) प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा वास्तविक के कारणले घटना भएको हो त्यो पत्ता लगाउन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.