व्यापार ओरालो लागेबेला भिडन्त

एकैदिन ‘अनुराग,’ ‘कथा काठमाडौं’ र ‘छिरिङ’

रिपोर्ट नेपाल | 2018 Sep 29 | 07:18 pm 3979

काठमाडौं, असोज १३: पछिल्ला दिन नेपाली फिल्मको व्यापार खासै आशालाग्दो देखिँदैन। रिलिजमा तँछाडमछाड भने जारी नै छ। यो साता पनि दर्शकहरूले तीन नेपाली फिल्मको विकल्प पाउनेछन्। शुक्रबारदेखि प्रदर्शनमा आएका ‘कथा काठमाडौं’, ‘अनुराग’ र ‘छिरिङ’ तीनै चलचित्रका निर्देशक नयाँ हुन्।

सञ्चारकर्मी संगीता श्रेष्ठ पहिलो पटक ‘कथा काठमाडौं’ लिएर फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् भने कैयौं फिल्ममा सहायक निर्देशन भई काम गरेका सत्यराज चौलागाईं ‘अनुराग’ मार्फत निर्देशनमा डेब्यु गर्दै छन्। गायक हुँदै फिल्म ‘बाटोमुनिको फूल’ बाट अभिनेता र निर्मातामा आफूलाई प्रस्तुत गरिसकेका यशकुमार फिल्म ‘छिरिङ’ बाट निर्देशकको फुली पनि थप्ने सुरमा छन्।

काठमाडौंभित्रका प्रतिनिधि तीन कथालाई फिल्ममा उठान गरेकी संगीताका लागि यति बेला फिल्मको प्रदर्शनी चुनौतीपूर्ण बनिरहेको छ। तीनमध्ये एक कथा हो, शारीरिक भोगको कथा जहाँ प्रेमीले प्रेमिकाबाट जबरजस्ती यौन सुख लिइरहेको छ। जसमा प्रियंका कार्कीले सुपर मोडल नोराको भूमिको निर्वाह गरेकी छन् भने ड्रग एडिक्ट प्रेमीको भूमिकामा प्रमोद अग्रहरी रहेका छन्।

यति बेला यी दुई अभिनीत कथाका दृश्यले विवाद उत्पन्न गराएको छ। दुईको अन्तरंग दृश्यलाई लिएर सरकारको समेत ध्यानाकर्षण भयो भने सर्वसाधारणले समेत युटयुबदेखि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया जनाइरहेका छन्।

‘प्रेम पो सुन्दर हुन्छ, देखिन्छ। घरेलु हिंसा बलात्कार पर्दामा पनि सुन्दर देखिँदैन,’ फिल्ममा बोल्ड सिन दिएकी प्रियंका त्यसको बचाउमा बोलिन्, ‘फिल्ममा पनि ती सिनलाई रेपकै रूपमा देखाउन खोजिएको थियो। बढी यथार्थपरक रूपमा देखाउँदा दर्शकलाई पचेन होला।’ तर उनले नकारात्मक नै भए पनि प्रतिक्रिया दिइनुलाई आफूप्रतिको मायाकै उपज ठान्छिन् । भन्छिन्, ‘त्यो म हैन। मैले त केवल नोराको पात्र निर्वाह मात्र गरेको हो।’

यता ‘अनुराग’ को चुनौती भने अर्कै छ । सञ्चारकर्ममै सक्रिय ऋषि धमला यसै फिल्मबाट निर्माताका रूपमा आउन लागेका छन्। ठूलो लगानीको जोखिम त एकातर्फ छ नै, साथसाथै यसै फिल्मबाट धमलाले आफ्नै पत्नी एलिजा गौतमलाई नायिकाको रूपमा ब्रेक पनि दिएका छन्। त्यसैले उनका लागि एलिजाको करिअरको पनि उत्तिकै चिन्ता छ।

धमला आफू त फिल्म निर्माणका लागि नयाँ थिए नै, निर्देशक, नायिकादेखि नायकसम्म नयाँ नै लिएका छन्। तर धमला भने नयाँ फिल्ममा नयाँ कलाकार हुँदा दर्शकले पनि नयाँ स्वाद पाउनेमा आशावादी छन्। भन्छन्, ‘दर्शकले फिल्म रुचाइदिएपछि नै म सन्तुष्ट हुनेछु। पैसा वा नामका लागि बनाएको पनि हैन। लगानी उठाउँला वा नउठाउँलाभन्दा पनि दर्शकले आएर हेरिदिए पुग्छ।’

‘छिरिङ’ का निर्मातासमेत रहेका यश कुमारलाई भने हलसम्म दर्शक आइदिए भने फिल्मले बाँधेर राख्नेमा विश्वास रहेछ। ‘पहिले त दर्शक फिल्म हेर्न हलसम्म आइदिनुपर्‍यो। फिल्म हेर्ने दर्शकले मज्जाले इन्जोय गर्नुहुनेछ। इन्टरभल पनि किन भएको होला भन्ने पर्नेछ।’

प्रियंका र प्रमोद बाहेक आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला, प्रेक्षा अधिकारी लगायतको अभिनय रहेको ‘कथा काठमाडौं’ ले सहरभित्रका प्रेम, रोमान्स, दुव्र्यसनीलाई समेट्ने कोसिस गरेको छ भने ‘अनुराग’ लाई सांगीतिक प्रेमकथा भनिएको छ। जसमा एलिजा र समुद्र पण्डितको जोडीलाई देख्न सकिन्छ। निर्देशक चौलागार्इंले आगद केसीसँग मिलेर तयार पारेको पटकथामा थिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा, कमलकान्त मैनाली, विश्व बस्नेत लगायतको अभिनय रहेको छ।

हिमाली भेगमा हुने बहुपति प्रथालाई आधार मानेको ‘छिरिङ’ मा गायक निमा रुम्बा र गायक यशकुमार दुवैले छिरिङको भूमिका निर्वाह गरेका छन्। कामना भुजेल छिरिङकी पत्नीको भूमिकामा छिन्।
–––

–––

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.