एकै दिनमा दुई गैँडाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 29 | 03:19 pm 1989

चितवन, माघ १५: मंगलबार एकै दिन चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरेका छन्। चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या १३ पुगेको छ।

मरेका मध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८र२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको जानकारी दिए।

अर्को एक गैँडा सुखीभार क्षेत्र नजिकै मृतावस्थामा फेला परेको छ। उनका अनुसार सो गैँडा ३० वर्षको पोथी हो। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैँडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिए।

अर्को गैँडा मर्नाको कारण खुल्न सकेको छैन। गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए।

गैँडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ। विगत केही वर्षयता चोरीसिकारीबाट गैँडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ।

यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ। श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्को चार महिनाको भाले बच्चा सौराहा नजीकैबाट उद्धार गरी राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.