एकै दिन नेपालमा थप १० जनामा काेराेना संक्रमण, संक्रमित हुनेकाे संख्या ६९

रिपोर्ट नेपाल | 2020 May 03 | 04:45 pm 1544

काठमाडाैं, बैशाख २१ः नेपालमा एकै दिन थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पुष्टि हुनेमा नेपालगञ्जमा ९ जना र वीरगन्जका ३६ वर्षीय एक पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।

वीरगञ्जमा भेटिएकाकाे स्वाब काठमाडौंमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हाे ।  वीरगन्ज क्षेत्रमा मात्र संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ। गएको वैशाख १४ गते पर्साको वीरगन्जस्थित छपकैयाकै २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसलगत्तै भोलिपल्ट बाराको जीतपुरसिमराको क्वारेन्टाइनमा राखिएका थप २ पुरुष र वीरगन्जको छपकैयाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो।

उनीहरुसहित पर्सामा संक्रमितको संख्या आठ पुगेको थियो। आज भेटिएका संक्रमित व्यक्तिसहित अब पर्साको वीरगन्ज क्षेत्रमा मात्र संक्रमितको संख्या ९ पुगेको नारायणी अस्पतालले जनाएको छ।

वीरगन्जमा गएको चैत ३० मा पहिलो पटक भारतीय ३ जमातीमा कोरोना पुष्टि भई पर्सा कोरोना संक्रमित फेला पर्ने जिल्लाका रुपमा दर्ज भएको थियो। आइतबारकाे संक्रमितसहित प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या १३ पुगेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.