एकल पुरुषलाई पनि मासिक भत्ता

रिपोर्ट नेपाल | 2019 Jan 04 | 11:53 am 2500

भद्रपुर, पुस २०: झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए।

“एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उनले भने, “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ ।” गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेको थियो ।

त्यसैगरी उक्त गाउँपालिकाले ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु ५०० थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताए।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने झापा गाउँपालिका सम्भवतः प्रदेश नं १ को पहिलो स्थानीय तह हुनसक्ने उनको जिकिर थियो ।

टोलटोलमा पोल

झापा गाउँपालिकाले ‘जहाँ टोल त्यहाँ पोल’ भन्ने नारासहित गाउँपालिका भित्रका सबै वडामा बिजुलीको पोल गाड्न थालेको छ । उक्त गाउँपालिकाले रु ५५ लाखमा १ हजार थान पोल खरिद गरेर टोलैपिच्छे बिजुलीको पोल गाड्न शुरु गरेको हो । विशेष गरेर वडा नं १, ७ का अधिकांश बासिन्दा अहिले पनि बिजुली बत्तीको अभावमा कुपी र सोलर बत्तीमा निर्भर छन् ।

गाउँपालिकाले बिजुली नपुगेका स्थानमा समेत बिजुली पुर्‍याउने लक्ष्यसहित पोल गाड्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष राजकुमार यादवले बताए । उनले तीन महीनाभित्रमा गाउँपालिकालाई झलमल्ल बनाउने जानकारी दिँदै भने, “हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतमा राखेर गरेको काम नै बिजुली बत्ती हो । तीन महीनाभित्रमा सबैको घरमा बत्ती बल्छ ।”

उहाँले टोलटोलमा लगाएका बाँस र काठका अस्थायी पोलसमेत फालेर सिमेन्टका पोल गाडेको बताए।

सात सडक कालोपत्र

झापा गाउँपालिकाले चालू आर्थिक वर्षमा पालिकाभित्रका सात कच्ची सडक कालोपत्र गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दङ्गालले चालु आर्थिक वर्ष २०७५-७६ मा सडक कालोपत्रका लागि रु ७ करोड ७० लाख बजेट विनियोजन गरिएको बताए।

उनका अनुसार वडा नं ६ र ७ लाई जोड्ने सडकका लागि रु दुई करोड, ५ नं वडाका लागि रु एक करोड २० लाख, वडा नं ३ र ४ का लागि रु एक करोड एक लाख, वडा नं १ का लागि रू एक करोड ५० लाख र बाँकी अन्य सडकका लागि सो रकम विनियोजन गरिएको हो । उनल भने, “यति रकमले छ किलोमिटर मात्र सडक कालोपत्र हुन्छ, आगामी दिनमा बजेट थपेर काम गर्दै जाने योजना छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.