एक हप्तादेखि पोखरामा फिल्म सुटिङ गर्दै बलिउड नायक अर्जुन कपुर

रिपोर्ट नेपाल | 2018 Sep 03 | 04:57 pm 4539

पोखरा, भदौ १८ : बलिउडका नायक अर्जुन कपुर फिल्म सुटिङका क्रममा ७ दिनदेखि पोखरामा छन्। पोखराको लेकसाइडको सडक, फेवाताल किनारलगायतका क्षेत्रमा बलिउड नायक कपुर भारतीय चलचित्र ‘शुप्रभात’ को सुटिङमा व्यस्त छन्।

भारतीय मिडियाहरुमा भने अर्जुन कपुर र परिणिति चोपडाको नयाँ फिल्म ‘इण्डियाज मोस्ट वान्टेड’ को  सुटिङ भनेर नेपालमा हल्ला भए पनि सुटिङका क्रममा क्ल्याप बोर्डमा भने चलचित्रको नाम ‘शुप्रभात’ लेखिएको छ। यस चलचित्रको २५ दिनसम्म पोखराका विभिन्न स्थानमा छायाँकन हुने बताएको छ।

चलचित्रमा नायक कपुर पोखरामा साथीसँग घुम्न आएको विषयमा केन्दित भएर छायाँकन भइरहेको बताइएको छ। पोखरा पछि सो फिल्म तीन दिन काठमाडौंमा छायाँकन हुने पनि बताइएको छ।

चलचित्र छायाँकन युनिटले छायाँकन भइरहेका दृश्य कैद गर्न कसैलाई पनि अनुमति दिएका छैनन्। समाचारका लागि फोटो खिच्न र समाचार बनाउन समेत उनीहरु इच्छुक देखिएनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.