एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

| 2022 Nov 18 | 04:22 pm 1417

गोरखा, मङ्सिर २ः प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ ।

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका २२२ मतदानस्थल र ३१७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको दुर्गम चुमनुब्री गाउँपालिकामा झण्डै एकसाता हिँडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । चुमनुब्री गाउँपालिका–१ को सामागाउँको साम्दो पुग्न झण्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन् ।

जिल्लाभित्र निर्वाचनलाई निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न तीनवटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए । हरेक मतदानस्थलमा पाँचजना र मतदान केन्द्र दुई वटा भए थप दुई जनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उनले बताए ।

“मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी आर्चायले भने”, “त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहनेछ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।”

प्रमुख जिल्ला अधिकारी आर्चायले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए ।

उनले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए । आवश्यक परेको खण्डमा १० मिनेटभित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उनको भनाइ छ ।

गोरखा जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एक लाख १५ हजार ३९७ मतदाता छन् । जसमा ५८ हजार २२ जना महिला र ५७ हजार ३७५ जना पुरुष छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एक लाख पाँच हजार २४० मतदाता छन् । दुई नम्बर क्षेत्रमा रहेका कुल मतदातामध्ये ५२ हजार ३९९ जना पुरुष र  ५२ हजार ८१४ महिला मतदाता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.