एक हजार परिवारलाई लालपुर्जा

रिपोर्ट नेपाल | 2022 Feb 10 | 07:31 am 1681

काठमाडौँ, माघ २७ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिविहीनलाई लालपुर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताएकी छन् । सिरहाको मिर्चैया नगरपालिका–१ र २ मा लालपुर्जा वितरण कार्यक्रममा श्रेष्ठले २०२१ यता नापी हुँदा गाउँब्लकका रूपमा थन्किएका लालपुर्जा वितरणलाई प्राथमिकतासाथ अघि बढाएको बताइन् ।

उनले एक वर्षमा लालपुर्जा वितरण गरिसक्ने लक्ष्य रहेको बताइन् । उनले भनिन्, “जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन भएका नागरिकको समस्या समाधान गर्न सरकारले काम थालेको छ ।” मन्त्री श्रेष्ठको सचिवालयका अनुसार सिरहाका एक हजार परिवारलाई बुधबारदेखि शुक्रबारसम्म लालपुर्जा वितरण गरिसक्ने कार्यक्रम छ । श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी छन् ।

मन्त्री श्रेष्ठले हरुवाचरुवाको समस्या स्थायी रूपमा समाधान गरिने बताइन् । सिरहाको बरियारपट्टीमा हरुवाचरुवा, कमैया कमलरीहरूको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफलमा श्रेष्ठले हरुवाचरुवाका समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदनअनुसार दिगो समाधान खोजिने बताइन् । उनले हरुवाचरुवा, कमैया कमलरीको समस्या समाधान गर्न पाँच सदस्यीय अध्ययन समिति पनि गठन गरेकी छन् । समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाउने छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.