काठमाडौं श्रावण २: विभिन्न सरकारी कार्यलयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुन: काममा फर्कने भएका छन्।
मुलुक संघीय संरचनामा गएसँगै सरकारले अस्थायी कर्मचारीलाई हिजोदेखि लागु हुने गरि हटाउने तयारी गरेको थियो। तर हाजिरी गर्न नपाएका हजारौँ कर्मचारी पुर्नवहालीको माग गर्दै संर्घषमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।
सयौँ कर्मचारीले सामान्य प्रशासन मन्त्रालयमा मंगलबार धर्ना र विरोध गरेका थिए। मुख्य सचिव लोकदर्शन रेग्मीले अस्थायी करार र ज्यालादारीका कर्मचारीलाई असोजसम्म काम गर्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएपछि उनीहरु आजबाट काममा फर्किन लागेका हुन्।
काठमाडौंका विभिन्न कार्यलयमा १३ हजार कर्मचारीहरु सवारी चालक, कुचीकार, कार्यलय सहयोगी, र कम्प्युटर अपरेटरका रुपमा कार्यरत छन् । अस्थायी कर्मचारीहरु हटाउँदा मन्त्रालय विभाग र अन्य सरकारी निकायको काम कारवाही नै प्रभावित हुने भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।