एउटै स्तम्भमा मधेसका छ सहिद

रिपोर्ट नेपाल | 2018 Nov 16 | 08:07 am 2708

काठमाडौं, कार्तिक ३० : मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका मधेसका ६ सहिदको प्रतिमा जलेश्वरस्थित जिरोमाइल एउटै स्तम्भमा राखिएको छ। स्तम्भको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अनावरण गरे।

स्तम्भमा मधेस आन्दोलनका सहिद रोहन चौधरी, गणेश चौधरी, रामविवेक यादव, रामशीलादेवी मण्डल, अमित कापर र वीरेन्द्र बिच्छाको प्रतिमा छ। सबै प्रतिमा र स्तम्भ प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले व्यक्तिगत खर्चमा बनाएका हुन्।

एउटा प्रतिमा बनाउन ५० हजारका दरले तीन लाख खर्च भएको झाले बताए। प्रतिमा स्थापना गर्न अर्को एक लाखसहित कूल चार लाख खर्च भएको उनको भनाइ छ।

मुख्य न्यायाधिवक्ता झाका अनुसार ६ सहिदका प्रतिमा सुनसरीका कलाकार हरिओम मेहेता र दीपक मेहेताले बनाएका हुन्। उनीहरूले सुनसरीमै ती प्रतिमा बनाएर महोत्तरी ल्याएका हुन्। प्रतिमा बनाउन साढे तीन महिना लागेको मुख्य न्यायाधिवक्ता झाले बताए।

जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रको सहयोगमा प्रतिमासहितको स्तम्भ जिरोमाइलमा राखिएको हो। सो स्थानमा जलेश्वर नगरपालिकाले ०४९ सालमा पार्क बनाएको थियो। पार्कमा ‘प्रजातन्त्र स्मारक’ थियो। सो स्मारक नै ‘सहिद स्तम्भ’ बनाइएको हो। सो पार्कलाई पनि सहिद बाटिका नामकरण गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.