उपराष्ट्रपति पुन चीनको छेन्दूमा, आजै उच्चस्तरीय भेटघाट

रिपोर्ट नेपाल | 2018 Sep 19 | 04:18 pm 1555

काठमाडौं, ३ असोज  : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै सिचुवान प्रान्त सरकारका उपसचिव यान वि पिङ.
सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका उपराष्ट्रपति पुनलाई सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए ।

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै आज नै उपराष्ट्रपति पुन र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

उपराष्ट्रपति पुन छेन्दुमा बिहीबारबाट शुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन पुगेका हुन् । उनले बिहीबार बिहान ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोडसम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.