उपराष्ट्रपति पुन चीन प्रस्थान

| 2018 Sep 19 | 11:56 am 1946

काठमाडौं, असोज ३ उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन्। ६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार बिहान सिए ४३८ नम्बरको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गरेका हुन् ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही बिहीबारदेखि सुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन गएका हुन् ।

उनले बिहीबार अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुनलाई बिदा गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृह मन्त्री रामबहादुर थापा बादल गएका थिए ।

चीनमा रहँदा पुन चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ ।

उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौँ आइपुग्ने छन् ।

आजै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीन प्रस्थान गर्ने कार्यक्रम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.