उपभोक्ता अल्लोका सामग्री किन्न महोत्सव कुर्छन्

| 2022 Jan 12 | 08:32 am 1269

चितवन, पुस २८ः चितवन महोत्सव अवलोकन गर्न आएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटे । टोपीका सौखिन उनले दुईवटा खरिद गरे । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताउछन् । अल्लोबाट बनेका टोपी खरिद गर्न पाइन्छ भनेर जानकारी पाएपछि उनी महोत्सवस्थलमा आएका हुन् ।

यसअघि पनि वाग्लेले महोत्सवकै बेला अल्लोका दुईवटा टोपी खरिद गरेका थिए । अल्लोका सामग्री मेला महोत्सवमा मात्र किन्न पाइने उनको अनुभव छ । “अरुबेला बजारमा खोज्दा पनि भेटिँदैन”, वाग्लेले भने ।

यस्तै भरतपुर–४ का देवीप्रसाद शर्मा पनि अल्लोको टोपी किन्न महोत्सवस्थल आए । वाग्ले र शर्मा जस्तै अरु धेरैले अल्लोबाट निर्मित सामान महोत्सवमै आएर किन्न पाएको बताए । सङ्खुवासभाको खाँदबारीबाट चितवन महोत्सवमा कक्ष राखेका नरेन्द्रकुमार राई अल्लोका सामग्री बेच्न भ्याइनभ्याई भएको बताउछन् । उनले टोपी, हाते झोला, पर्स तथा अल्लोका कपडा बिक्री महोत्सव अवलोकनकर्ताको रोजाइमा परेको बताए। “मेला महोत्सवकै अवसरमा अल्लोका सामान बढी बिक्री हुन्छन्”, राईले भने, “अरु बेला बिक्री न्यून हुन्छ ।” उनी चितवन महोत्सवमा पहिलोपटक आएका हुन् ।

नवलपुरको गैँडाकोटबाट आएकी सुस्मिता कँडेलले स्वदेशी सामान किन्न पाइन्छ कि भनेर महोत्सवमा आएको बताइन् । “बजारमा भारतीय र चिनीयाँ कपडा मात्र पाइने, स्वदेशी उत्पादन किन्न महोत्सव नै कुर्नुपर्छ”, उनले भनिन्, “अरु बेला पाउनै मुश्किल हुन्छ ।”

चितवन महोत्सवमा अल्लोबाट बनेका सामग्रीका दुईवटा मात्र कक्ष छन् । दाङबाट आएकी शर्मिला पुनले पनि राईले जस्तै अल्लोबाट बनेका सामग्रीको कक्ष राखेकी छन् । उनी यसरी बिक्री गर्न दाङबाट चितवन चौथोपटक आएकी हुन् । उनको कक्षमा पनि अल्लोबाट बनेका कोट, झोला, हाते झोला, पर्स, ढाड दुख्दा कम्मरमा बाँध्ने बेल्टलगायत सामग्री राखिएका छन् ।

अघिल्ला महोत्सवमा सामान थोरै ल्याउँदा गुनासो रहने गरेकाले यसपटक धेरै ल्याएको पुनले बताइन् । “अल्लोका सामग्री धेरै बिक्ने भनेकै मेला महोत्सवमा हो”, उनले भनिन्, “नियमित बिक्रीको वातावरण अझै बन्न सकेको छैन ।” साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.