उपनिर्वाचन : उम्मेदवारी मनोनयन बिहीबार

रिपोर्ट नेपाल | 2019 Nov 06 | 03:50 pm 1047

काठमाडौं, कात्तिक २० : आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार (भोली)हुने भएको छ । निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन काम यही कात्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो ।

कात्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

ती उम्मेदवारहरुको अन्तिम नामावली भने कातिक २४ गते प्रकाशन हुनेछ । सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ । आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुने पनि बताए ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र पनि तोकेको छ । आयोगका प्रवक्ता श्रेष्ठले मतदानमा भाग लिनका लागि मतदाता परिचय पत्र लिएर आउन पनि आम मतदातालाई आह्वान गरे ।

४ लाख ५४ हजार ११४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन् । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसीर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.