गोविन्द केसी प्रकरणलाई लिएर चिकित्सकहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै उपचारका लागि वीर अस्पताल पुगेका सेवाग्राहीहरुले असन्तुष्टि प्रकट गरेका छन् । आफूहरु टाढा टाढादेखि उपचारको निम्ति आएको तर डक्टरहरुले राजनीतिमा उत्रिएर बिरामीको उपचार नगरी अमानवीय कार्य गरेको उनीहरुको आरोप छ । तत्काल सबै सेवा सुचारु गराउन सेवाग्राहीले माग गरेका छन् ।
बिरामीका साथै र बिरामी कुरुवाहरुले विरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि विरामी र विरामीका कुरुवाहरुले सास्ती व्यहोर्नु परेको छ । यसप्रति आपत्ति जनाएका उनीहरुले विरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।
बिरामी र कुरुवाहरुले गोविन्द केसीको माग भने जायज रहेको बताएका छन् । तर केसीका माग जायज भएपनि मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महा अपराध गरेको आरोप उनीहरुले लगाए ।
उनीहरुले डा. केसीको माग सम्बोधन गराउन आफूहरु पनि आन्दोलनमा जाने तर अस्पतालको सेवा तत्काल खुलाउनुपर्ने माग पनि चिकित्सकहरुसँग राखेका छन् ।