‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’

| 2021 Dec 04 | 08:16 am 1865

काठमाडाैं, मङ्सिर १८ः प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् । विश्वविद्यालयको नवौँ साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । विश्वविद्यालयले विशेषतः सुदूरपश्चिमका नागरिकलाई उच्च शिक्षामा सहज पहुँच सुनिश्चित गर्दै शिक्षित समाज निर्माणमा अग्रपङ्क्तिमा उभिनुपर्ने देउवाले बताए । उनले भने, “रोजगारीका लागि विदेशिनुपर्ने परिस्थितिलाई मनन् गर्दै युवा जनशक्तिलाई देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि विज्ञान तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्न अति आवश्यक छ ।”

समायानुकूल जनशक्ति उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा योगदान दिन सक्ने शैक्षिक कार्यक्रमहरू विश्वविद्यालयले सञ्चालन गर्नुपर्ने उनले बताए । राष्ट्रलाई आवश्यक गुणस्तरीय जनशक्तिको परिपूर्ति गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनतर्फ पनि विश्वविद्यालयले ध्यान दिनुपर्ने उनले बताए । यसो गर्न सकिएमा मुलुकको आवश्यकता परिपूर्ति गर्नसमेत सफलता मिल्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणले विश्वविद्यालयका विभिन्न शैक्षिक गतिविधिहरू सञ्‍चान गर्न कठिनाइ भएको अवस्थामा पनि वैकल्पिक विधिबाट शैक्षिक, प्राज्ञिक, अध्ययन तथा अनुसन्धान एवं परीक्षाका सम्पूर्ण गतिविधि समयमा नै सफलतापूर्वक सम्पन्न हुनु सुखद भएको देउवाले बताए ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले उक्त विश्वविद्यालयले सुदूूरपश्चिमको आवश्यकता र मागअनुसारको शिक्षा सर्वसुलभ रूपमा व्यवस्था गर्नुपर्ने बताए । विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष जोड दिई त्यहाँका सम्पदाहरू र सम्भावनालाई उपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई तोकिएकै समयमा सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर अगाडि बढेको बताए । सरकारले गर्ने अनुसन्धानका कार्यमा विश्वविद्यालयलाई सँगै लैजाने व्यवस्था मिलाउन उनले सरकारसँग अनुरोध गरे । सुदूरपश्चिम विश्वविद्यालय २०६८ सालमा स्थापना भएको हो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.