उखुको मूल्य निर्धारणमा ढिलाइ

रिपोर्ट नेपाल | 2022 Dec 14 | 07:21 am 1165

पश्चिम नवलपरासी, मङ्सिर २८ः उखु क्रसिङ सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसान चिन्तामा छन् ।

पश्चिम नवलपरासीमा मङ्सिरको पहिलो सातादेखि नै उखु क्रसिङ सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु किसान सस्तोमै उखु बेच्न बाध्य भएका हुन् ।

यहाँ रहेका बागमती खाडसारी चिनी मिल र इन्दिरा सुगर इन्डस्ट्रिज प्रालि मङ्सिरको पहिलो सातादेखि सञ्चालन हुन थालेका छन् । यसबाहेक अरू उखु क्रसर पनि सञ्चालन हुन थालेका छन् । बागमती र इन्दिरा सुगर इन्डस्ट्रिजले गत वर्षकै मूल्य प्रतिक्विन्टल ५२० रुपियाँलाई नै आधार बनाई उखु खरिद गरिरहेका छन् भने भेली क्रसरहरूले ४५० देखि पाँच सय रुपियाँसम्ममा उखु खरिद गरिरहेका छन् ।

गत वर्ष सरकारले समर्थन मूल्य ५९० रुपियाँ तोकेको थियो, जसमा ५२० रुपियाँ मिलको र ७० रुपियाँ सरकारको अनुदान रहेको थियो । मिलले अहिले प्रतिक्विन्टल ५२० रुपियाँमा खरिद गरे पनि पछि बढेर आउने रकमको पनि भुक्तानी दिने आश्वासन दिएका छन् ।

पहिला उचित मूल्य र समयमै भुक्तानी पाउने हुँदा किसान उखुतर्फ आकर्षित हुँदै कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती गर्दै आएका थिए तर हाल मूल्य र भुक्तानीको समस्याले गर्दा किसान उखु खेती छाड्दै अहिले जम्मा पाँच हजार हेक्टर क्षेत्रफलमा मात्र उखु खेती झरेको उखु उत्पादन कृषक सङ्घले जनाएको छ । गाेरखापत्र अनलाइन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.