काठमाडौं, पुस ७ : भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ ।
ललितपुरले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि भैरहवालाई १७ रन आवश्यक परेको अवस्थामा योगेन्द्रसिंह कार्कीले २ रनमात्र दिए । यो जितसँगै ललितपुरले २५ लाख पाएको छ भने भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।
भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । प्रदीपलाई छैटौं ओभरको अन्तिम बलमा योगेन्द्रसिंह कार्कीले कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका थिए । रविइन्दर सिंहले ३२ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २९ रन बनाए । भैरहवाका अन्य शरद भेषवाकर र रायन टेन डेस्काटेले समान १४ रन बनाउदा आरिफ शेखले १२ रन बटुले । मोहम्मद नविदले १० रन बनाए ।
अन्तिम तिर भैरहवाका रोहित कुमार पौडेले ७ र कुशल मल्लले १६ रन बनाएपनि टोलीको झिनो हार टार्न सकेनन् । ललितपुरको जितमा पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले ४ ओभरमा मात्र १७ रन खर्चेर ३ विकेट लिए । पवनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । योगेन्द्र सिंह कार्कीको नाममा पनि २ विकेट रह्यो ।