भोजपुर, असार ३० : सिँचाइ कार्यालय भोजपुरका प्रमुख एक लाख ८० हजार घुससहित समातिएका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादव एक लाख ८० हजार घुस रकमका साथमा पक्राउ परेका हुन् ।
यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुससहित सोमबार पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका १३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको छापामा परेका हुन् ।
इन्जिनियर यादवलाई भोजपुर नगरपालिका ७ स्थित फुपू भदैनी होटलमा रकम लिंदै गर्दा रङ्गेहात अख्तियारका कर्मचारीले रङ्गेहात पक्राउ गरेका हुन् । यसअघि पनि पटक पटक विवादमा आएका उनलाई स्थानीयकै पहलमा अख्तियारले पक्राउ गरेको हो ।