इजाजत विनानै २१ थान पासपोर्ट बोकेर हिँड्ने ‘एजेन्ट’ पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 09 | 07:20 pm 2145

विराटनगर, चैत २६ : इजाजत विनानै  २१ थान पासपोर्ट बोकेर हिँड्ने एक जना ‘एजेन्ट’ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले मोरङको बुढीगंगा गाउँपालिका -६ का ५५ वर्षीय रत्नकुमार लिम्बुलाई इटहरी बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई सुनसरी प्रहरीले मङ्गलबार  विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए । वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दा श्रम तथा रोजगार कार्यालयले हेर्ने भएकोले प्रहरीले विराटनगर श्रम कार्यालयमा बुझाएको हो । पक्राउ परेका लिम्बुलाई म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको श्रम तथा रोजगार कार्यालय विराटनगर वरिष्ठ श्रम अधिकृत सन्जेलले बताए ।

उनले वैदेशिक रोजगारमा पठाइदिने र विभिन्न प्रलोभन देखाएर पासपोर्ट धनीबाट ठगी गरिएको हुनसक्ने भएकोले श्रम कार्यालयले त्यही अनुसार अनुसन्धान अगाडी बढाएको छ । ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ,’ वरिष्ठ श्रम अधिकृत संन्जेलले भने, ‘पक्राउ परेका लिम्बुको साथबाट विभिन्न जिल्ला घर भएका पुरुष र महिला नाममा जारी भएको २१ थान पासपोर्ट बरामद भएको छ । उनीसँग इजाजत पत्र पनि छैन ।’ इजाजत पत्र नलिई लिम्बुले वैदेशिक रोजगारमा पठाउने बहानामा ठगी गरिएको हुनसक्ने भएकोले श्रम तथा रोजगार कार्यालयले अहिले अनुसन्धान गर्दै आएको छ ।

बरामद भएको पासपोर्ट सिन्धुपाल्चोक देखिको, मोरङ, झापा, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुमलगायतको जिल्ला घर भएका छन् । लिम्बुको साथबाट बरामद भएको पासपोर्ट मोरङ घर भएको बढी रहेको श्रम कार्यालयले जनाएको छ ।

श्रम कार्यालयमा वैदेशिक रोजगारमा पठाइ दिने भन्दै रकम ठगिएको उजुरी आउने क्रममा बढेको संजेलले बताए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २ देखि पाँच जनासम्म वैदेशिक रोजगारमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगिएको प्रमाणसहित उजुरी लिएर आउने गरेको जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.