एजेन्सी, असार २८ः गएराति राति भएको फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै इटालीले युरो कप फुटबलको उपाधि जितेको छ। इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो।
उपाधिसँगै इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ। यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो। इंग्ल्यान्ड भने पहिलो पटक युरो कपको उपाधि जित्न असफल भएको छ।
वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटालीले बाजी मार्यो।
पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए।
इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए।
त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो। खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काएका थिए।