आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी

रिपोर्ट नेपाल | 2019 Nov 05 | 07:36 am 1486

रौतहट, कात्तिक १९: जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरेको बताएका छन्।

उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौं व्यक्तिलाई इँटाभट्टामा ज्युँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए। तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ।

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन ०६४ साल चैत २७ गते आलमले निर्वाचनमा विजय हुन आफ्नै काका शेष इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा यमुनामाई गाउँपालिका निवासी २२ वर्षीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको आरोप लगाइएको छ।

मोहम्मद अफताब आलमले निर्वाचनमा विजयी हुन प्रयोग गरिएका उनीहरूलाई बम बनाउने क्रममा घाइते भएपछि ज्युँदै इँटाभट्टामा जलाइएको आरोप रहेको छ। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट घटनाको योजनाकारको आरोप लगाउँदै आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरेको छ।

आलमले १२ वर्षअघि बम विस्फोटमा दर्जनौं व्यक्तिको हत्या र कर्तव्य ज्यान अनि बम विस्फोट गराएको आरोप प्रहरीको अनुसन्धान र सरकारी वकिलको कार्यालयको अभियोजनपत्रमा उल्लेख छ। आलमले भने विस्फोट नै नभएको दाबी गर्दै आएका छन्।

जिल्ला अदालतमा दायर अभियोगपत्रमा राजा इँटा उद्योगमा काम गर्ने राजेशप्रसाद सहनी, लखिन्द्र पटेल, जलिप अन्सारीको बयान पनि समेटिएको जनाइएको छ। जसमा उनीहरूले आलम र उनका भाइ मोहम्मद महताब आलमलगायतले विस्फोटमा घाइतेहरूलाई बोरामा हालेर ल्याएको र भट्टामा हाली जलाएको उल्लेख छ।

मृतकका परिवारले ५ जनालाई प्रतिवादी बनाए पनि प्रहरीले अनुसन्धानपछि ११ जनालाई प्रतिवादी बनाएको छ। विस्फोटमा परी ज्यान गुमाएका परिवारले आलमलाई तत्कालीन मुलुकी ऐनअनुसार सर्वस्वसहित जन्मकैदको माग गरे पनि २०७४ सालको नयाँ मुलुकी अपराध संहिताअनुसार निलम्बित सांसद आलमलाई आजीवन कारावासको सजाय माग दाबीसहित सरकारी वकिलको कार्यालयमा पेस गरेको रायबमोजिम नै जिल्ला अदालत गौरमा सरकारी वकिलको कार्यालयले ३९ पृष्ठको लामो अभियोजनपत्र पेस गरेको हो।

त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसूरमा आलमलाई २० वर्ष कैद, बम विस्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसूरअन्तर्गत १० वर्ष कैद र विस्फोटक पदार्थ बनाएको कसूरमा २ वर्ष कैद सजाय माग दाबी गरेको जिल्ला सरकारी वकिल कटुवालले बताए। नेपाल समाचारपत्रमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.