अछाम, साउन १६: बयलपाटा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.मन्दिप पाठक अहिले अस्पतालमा उपचार सँगसँगै आर्थिक संकलनका लागि जुटिरहेका छन्। नेपालमा हड्डीको क्यान्सर हेर्ने चार जना विशेषज्ञ डाक्टरमध्ये पाठक पनि एक हुन्। दुर्गमको नमुना अस्पतालको रूपमा स्थापित बयलपाटा अस्पतालमा उनले सेवा दिइरहेका छन्।
दातृ संस्थाहरूले अस्पताललाई दिँदै आएको बजेट कटौती भएपछि अस्पताल अहिले आर्थिक संकटमा छ। त्यही आर्थिक संकट समाधान गर्न उनी आवश्यक बजेट जुटाउने अभियानमा छन्। तर, स्वास्थ सेवा प्रदान गर्न आवश्यक बजेट उपलब्ध हुन सकेको छैन। अस्पतालको आर्थिक संकट टार्न अस्पताल सरोकार समिति गठन गरिएको छ। उक्त समितिको टोलीसँगै डा.पाठक अहिले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतका मन्त्रीहरूलाई गुहार्न पुगेका छन्।
‘हामी निःशुल्क उपचारका लागि तत्पर छौं। गुणस्तरीय स्वास्थ सेवाका लागि सरकारले आर्थिक सहयोग गरिदिनुपर्यो,’ डा.पाठकले भने, ‘बजेट विनियोजन गर्छौं त भन्नुहुन्छ तर बजेट दिनेबेला कसैले वास्ता गर्नु हुन्न । मन्त्री, सांसद सबैले आश्वासन दिए पनि कार्यान्वयन गर्दा सम्बोधन हुँदैन।’ बयलपाटाको समस्या समाधानका लागि पहल गर्न अस्पताल सरोकार समिति गठन गरिएको छ। साँफेबगर नगरपालिका–७ मा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर संयोजक रहने गरी बयलपाटा अस्पताल सरोकार समिति गठन गरिएको हो। साँफेबगरले १ करोड विनियोजन गरेको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए। उनले भने, ‘अहिले हाम्रो टोली प्रदेश र संघ सरकारलाई अस्पतालको आर्थिक समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको छ। मुख्यन्त्री, अर्थमन्त्रीलगायतलाई भेटेरै ध्यानाकर्षण गराएका छौं। प्रधानमन्त्री शेरबहादुर देउवा समक्षसमेत बजेटका लागि आग्रह गरेका छौं। सकारात्मक कुरा आएको छ।’
आर्थिक वर्ष २०७९/८० मा अस्पताल सञ्चालनका लागि पुजीँगत र चालूतर्फ गरी २२ करोड रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ। तर, यस आर्थिक वर्षबाट सुदूरपश्चिम प्रदेश सरकार मातहतमा ल्याएर सञ्चालन गरिने गरी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा साढे ४ करोड मात्रै बजेट विनियोजित भएको छ। गत आर्थिक वर्ष ८ करोड बजेट विनियोजित गरेको प्रदेश सरकारले उक्त रकम घटाएर साढे ४ करोडमा सीमित गरेको छ। बजेट पुँजीगततर्फ मात्रै विनियोजित भएको हो। जसका कारण अस्पताल सञ्चालनमा समस्या हुने भएको छ।
बजेट अभावका कारण अस्पताल बन्द हुन्छ भन्ने चिन्ता उपचार गर्न अस्पताल पुगेका दुर्गमका बिरामीमा समेत परेको छ। साँफेबगर–३ का नाउटे कोलीले आफूहरू जस्तो गरिब असहायका लागि बयलपाटा अस्पताल देउताको रूपमा रहेको बताए। प्रदेशका मन्त्री, सांसदहरू अस्पतालको प्रशंसा र गर्छन्। तर, आवश्यक रकम उपलब्ध गराउँछौं भन्दै झुटो वाचा गरेर फर्किने गरेका छन्। आगामी आव २०७८÷७९ का लागि सुदूरपश्चिम सरकारसँग २० करोड माग गरिए पनि ८ करोड मात्र विनियोजन गर्याे। संघ सरकारबाट भने कुनै सम्बोधन नै हुन सकेन। अन्नपूर्ण पाेस्ट दैनिकबाट