आयोजनाको म्याद चौथोपटक थप नगर्ने पक्षमा सरकार

रिपोर्ट नेपाल | 2021 Nov 16 | 08:13 am 1677

काठमाडाैं, कात्तिक ३०ः निर्माणाधिन तथा निर्माण हुने क्रममा रहेका तर निर्माण सुरु नगरेका आयोजनाहरुको म्याद थप नगर्ने नीति सरकारले लिएको छ । तेश्रो पटकसम्म आयोजनाको म्याद थप गरेका तर निर्माण कार्य नगरेका आयोजनाहरुको चौथोपटक म्याद थप नगर्ने नीति सरकारले लिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आयोजनाको कार्य प्रगति हेरेर ३ पटक म्याद थप भएकाको चौथो पटक म्याद थप नगर्ने बताएकी छन् । उनले भनिन्,“सरकारले ३ पटक म्याद थप गरेको तर काम नगरेका आयोजनको सूची संकलन गर्ने कार्य मन्त्रालयले सुरु गरेको छ । त्यस्ता आयोजनको चौथो पटक म्याद थप नगर्ने र ठेक्का तोड्नेछौं ।”

आयोजनको निर्माणमा ढिलाइका कारण ६० प्रतिशतसम्म निर्माण कम्पनीहरुकै भएकाले गर्दा काम सुरु नगर्ने र ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने मन्त्री यादवले बताइन् । एउटै निर्माण कम्पनीले धेरै ओटा आयोजनाको ठेक्का लिने र आयोजनालई गति नदिने परम्परालाई चाँडै सार्वजनिक खरिद ऐनले सम्बोधन गरी नियन्त्रण गर्ने योजना सरकारको रहेको मन्त्री यादवको भनाइ छ ।

कायम रहेको कम मूल्य सूचीमा निर्माण गर्न दावी गर्ने कम्पनीलाई आयोजना निर्माण गर्ने दिने सरकारी ऐन नै संशोधन गर्न आवश्यक रहेको मन्त्री यादवले बताइन् । यसरी निर्माण हुने आयोजनामा गुणस्तरता कायम नहुने भएकाले गर्दा सार्वजनिक खरिद ऐन संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । परिणाममुखी नतिजा जनमानसले चाहेकाले गर्दा जनमानसले राहत महशुस गर्ने गरी काम गर्न र आयोजनको काम अगाडि बढाउन मन्त्रालयमा मन्त्री यादवले निर्देशन दिएकी छिन् । धेरै आयोजना पटक पटक म्याद थप हुँदा पनि निर्माणले गति नलिएकाले सरकारले यस्तो नीति लिएर काम गर्न लागिएको बताउँदै मन्त्री यादवले कर्मचारीले देशप्रतिको जिम्मेवार भएर कार्य सम्पादन गर्न र गराउन निर्देशन दिएकी छिन् । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.