आयात नियन्त्रण गर्ने सरकारी प्रयास विफल

| 2022 Sep 26 | 07:34 am 1513

काठमाडौं, असाेज १०ः सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ ।

यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ । आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ ।

झन्डै ३ खर्ब रुपैयाँको आयात

चालू आर्थिक वर्ष २०७९÷८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशबाट नेपाल भित्रिने वस्तु आयातमा उच्च वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा झन्डै ३ खर्ब रुपैयाँको आयात हुँदा जम्मा २८ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । यो चालू आर्थिक वर्षको बितेका दोस्रो महिना भदौ मसान्तसम्मको विवरण हो ।

भन्सार विभागको सोही तथ्यांकअनुसार चालू आवको भदौ महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बढीको आयात भएको थियो । अहिले गत आवको भन्दा १३ दशमलव शून्य १ प्रतिशतले आयात घटेको छ ।

यसैगरी, भन्सार विभागले भदौ महिनामा ३४ दशमलव ८८ प्रतिशतले स्वदेशी वस्तुको निर्यात घटेको जनाएको छ । विभागका अनुसार सो अवधिमा २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँबराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको पहिलो महिना गत साउनको तुलनामा भदौ महिनामा मात्र वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको छ । साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यस्तो आयात बढेर २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । सोही तथ्यांकअनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्ब रुपैयाँले बढेको हो । आयात नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहेको सरकारले अझै विलासिताका वस्तुको आयातमाथिको प्रतिबन्ध कायमै राखेको छ । सोमबारबाट सुरु हुने दसैं र तिहारलगायतका चाडपर्व लक्षित सामग्रीको आयात बढेका कारण भदौमा आयात थप बढेको हो । अर्कोतर्फ हाल निरन्तर बढेको अमेरिकी डलरको भाउले समेत आयात रकम बढी देखिएको सम्बन्धित सरोकारवालाले बताएका छन् ।

भन्सार विभागका अनुसार भदौसम्म भएको कुल आयात गत आर्थिक वर्षको सोही महिनासम्मको तुलनामा १३ दशमलव १ प्रतिशतले न्यून हो ।

हाल मुलुकमा देखिएको बढ्दो आयात र घट्दो निर्यातको असन्तुलनकै कारण नेपालको वैदेशिक व्यापार पनि निरन्तर घाटामा रहेको छ । चालू आवको पहिलो दुई महिना भदौसम्ममा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ । यस्तो व्यापार घाटा गत आवको पहिलो ९.४५ प्रतिशतले कम हो । गत आवमा साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँबराबरको थियो ।

चालू आवको पहिलो दुई महिनामा वैदेशिक व्यापारको आकार भने ३ खर्ब नाघेको छ । भन्सार विभागका अनुसार ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ ।

सो अवधिमा निर्यातमा आएको गिरावटका कारण कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा २२ दशमलव ७५ प्रतिशतको गिरावट देखिएको छ । व्यापारको हिस्सामा भने ३.१९ प्रतिशतको वृद्धि भएको छ । हाल १ सय रुपैयाँबराबरको वैदेशिक व्यापार हुँदा निर्यात ९.४९ रुपैयाँ र आयात ९०.५१ रुपैयाँबराबरको हुने गरेको विभागले जनाएको छ ।

यसैगरी, सो अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्र ५० अर्ब ८८ करोड रुपैयाँबराबरको खर्च भएको छ । हाल सबैभन्दा ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थको आयातमा रहेको छ । यसैगरी, अन्य आयातीत वस्तुहरू फलाम र स्टिलको आयातमा २४ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको छ ।

त्यसैगरी, विद्युतीय सामग्रीको आयातमा १८ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको विभागले जनाएको छ । त्यस्तै, औषधिजन्य वस्तुको आयातमा १० अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ । वनस्पति तेल र यससँग सम्बन्धित वस्तुको आयत १९ अर्ब ८ करोड रुपैयाँ बाहिरिएको छ । सोही अवधिमा यस्ता वस्तुहरूको निर्यात जम्मा ७ अर्ब ७९ करोड रुपैयाँबराबरको भएको विभागले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.