आफ्नै साथीको हत्या गर्ने थिङ प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2020 Nov 08 | 03:17 pm 2260

काठमाडौ, कात्तिक २३ः गत वर्षको साउन २८ गते आफ्नै साथीको हत्या गरी फरार रहेका मकवानपुर गेढी गाउँपालिका १ ठाँटीटोलका २८ वर्षीय कुमार भन्ने मानबहादुर थिङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्न सफल भएको छ ।

उदयपुर जिल्लाको कटारी नगरपालिका २ गराँस घर भई हाल ललितपुर बालकुमारी डेरा गरीबस्ने ३३ वर्षीय हरी खड्काको हत्या गरेको अभियोगमा महाशाखाले पक्राउ गरेको हो ।

मृतक खड्का मुर्ति बनाउने काम गर्ने गरेको र आठ वर्षदेखि दुबै जनाको चिनजान भएको अनुसन्धानबाट खेलेको बताइएको छ ।

चिनजानकै क्रममा मृतककी श्रीमती र अभियुक्त थिङबीच चिनजान भई म्यासेजमा कुराकानी गरेको थाहा भएपछि खड्का र थिङबीच झगडा भई कुटपिट गर्दा खड्काको मृत्यु भएको थियो ।

मृतक खड्कालाई २०७६ साउन २५ गते ललितपुर महानगरपालिका ९ गुहेपोखरीमा बोलाई कुमार भन्ने मानबहादुर थिङ लगायतका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेका थिए ।

कुटपिटमा संलग्न धने भन्ने आरुष थिङ, मृतककी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राज बम्जन र सागर वाइवालाई महानगरीय अपराध महाशाखाको टोलीले पहिला नै पक्राउ गरी कानुनी कारबाही भइरहेको र मुख्य अभियुक्त कुमार भन्ने मानबहादुरलाई पक्राउ गरी महानगरीय प्रहरी परीसर ललितपुर पठाइएको प्रवक्ता ईश्वर कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.