आफ्नै ट्याक्सीमा मृत अवस्थामा भेटिए भुजु

रिपोर्ट नेपाल | 2019 Feb 24 | 07:33 pm 1900

भक्तपुर, फागुन १२ : सूर्यविनायक नगरपालिका–८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैंले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् ।

बा ५च ६४२१ नम्बरको ट्याक्सी बनाउने भन्दै परिवारसँग बिहान घरबाट निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका–८ लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृतावस्थामा भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

बिहान निस्किएका श्रीमान् घर नआएका र मोबाइलसमेत सम्पर्क नभएपछि श्रीमती सिर्जनाले प्रहरीलाई जानकारी गराइकी थिइन । खोजी गर्ने क्रममा लिवालीमा गाडी देखेपछि प्रहरी पुग्दा अचेत अवस्थामा भुजुलाई देखी भक्तपुर अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको कुरा प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए ।

प्रहरी र श्रीमती सिर्जना उक्त स्थानमा पुग्दा ट्याक्सी नजिकबाट भाग्दै गर्दा चार जनालाई प्रहरीले पक्राउ गरी अनुसधान शुरु गरेको प्रहरीले जानकारी दिए ।

पक्राउपर्नेमा चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका– ४ का १९ वर्षीय भूपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका– १ ट्याङ्थली घर भई हाल चाँगुनारायण– ९ ताँथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र ताँथलीकै २१ वर्षीय सुकु भन्ने राज वनमाला रहेका छन् । प्रहरीले शव परीक्षण गर्न शिक्षण अस्पताल पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.