आफ्नै आमाले दिलाइन् छोराको पुनर्जन्म

रिपोर्ट नेपाल | 2018 Jul 06 | 09:42 am 3469

खोटाङ, असार २२: केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाएका छन्।

डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उनकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला उपलब्ध गराएर गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि सुरेशले पुनर्जन्म पाएकी हुन्।

भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्रका डा पुकार श्रेष्ठलगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको सफल मिर्गौला प्रत्यारोपण गरेको प्रदेशसभा सदस्य राजन राईले बताए । “कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारदेखि पुनर्जन्म पाएका छन् ।” उनले भने, “यसमा विशेष धन्यवादका पात्र डा पुकार श्रेष्ठलगायत उहाँको टोली रहेको छ ।”

सुरेश दर्जीलगायत उनका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्यजस्तै भएर गाउँमा बस्दै आएका छन् ।

सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहेका सुरेश र उनकी आमाको स्वास्थ्य अवस्था मिर्गौला प्रत्यारोपणपछि पनि ठीक रहेको डा श्रेष्ठले बताए। “उनीहरु दुवैको अवस्था अहिलेसम्म ठीक छ ।” उनले भने, “उनीहरुको घाउ ठीक हुनासाथ घर पठाइनेछ ।”

मिर्गौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करीब रु सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताए। “सुरेशको उपचारमा हामीले कसैसँग सहयोग मागेनौँ ।” उनले भने, “परिवारका सदस्य तथा केही इच्छुक दाताले स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद !”

सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्कविहीन रहेको स्थानीयवासीले बताएका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.