आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलको बाँके बन्द, जनजिवन कष्टकर

रिपोर्ट नेपाल | 2019 Nov 15 | 11:04 am 1547

बाँके, कात्तिक २९: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ । आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो ।

बन्दका कारण बाँके जिल्लाको जनजीवन प्रभावित भएको छ । हतियारसहित पक्राउ परेको भनिएका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो ।

तरुण दलको नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका ६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिराखेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको दाबी प्रहरीको छ ।

तरुण दलका नेताहरुले भने दशैंको बेला डिएसपी शाहीले खसी मागेको तर आफूहरुले नदिएको रिसमा लगाएर फसाएको आरोप लगाउँदै आएका छन् । खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.