आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास हुन्छ: अध्यक्ष दाहाल

रिपोर्ट नेपाल | 2018 Sep 01 | 05:02 pm 1401

काठमाडौं, भदौ १६: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताएका छन्। अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताए।

अध्यक्षले भने, ‘कसैलाई रहर लागेर नेता हुनसक्ने होइन। इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो। लहडले नेता बनिंदैन।’ उनले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो सङ्घर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए।

अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रियामार्फत समाजवादको तयारीमा छौँ ।” पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने बताए। उनले भने, “पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताप्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।’

नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्नेमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला सङ्ग्रौला, उपत्यका ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सदस्य डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौँ जिल्ला क्षेत्र नं २ का माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन्।

उनीहरुले चन्द नेतृत्वको समूहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेको बताउनुभयो । अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपाबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु प्रवेश गरेको उनीहरुको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.