अपराध आधुनिक प्रविधिबाट गरिरहेको हुँदा संगठित र जटिल हुँदै गईरहेको छ : आइजिपी खनाल

रिपोर्ट नेपाल | 2019 Oct 11 | 03:14 pm 2585

काठमाडौँ, २४ असोज : प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अपराध अकल्पनीय रुपले संगठित र जटिल हुँदै गईरहेको बताएका छन् । आज ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस लाई सम्बोधन गर्दै  खनालले उक्त कुरा बताएका हुन् ।

‘आज अपराध अकल्पनीय रुपले संगठित, अन्तर्देशीय एवं जटिल हुँदै गईरहेको छ । अपराध गर्ने व्यक्ति वा आपराधिक समूहले अपराध गर्ने परम्परागत शैलीलाई छोडेर प्रबिधिको अत्याधिक प्रयोग गरिरहेका छन् ।’ आइजिपी खनालले भने, ‘लागूऔषध, मानव बेचविखन, अवैध हात-हतियार ओसारपसार, बहुमुल्य सामाग्रिको तस्करी, ओखाटोपहार तस्करी जस्ता अपराधहरु समग्र विश्व समुदाय र सभ्य समाजको लागि नै चुनौतिको रुपमा देखापरेका छन् ।’

आइजिपी खनालकाे सम्बाेधनकाे पूर्णपाठ

“६४ औं प्रहरी दिवस–२०७६”को विशिष्ट क्षणमा आयोजित वीर, अमर प्रहरीप्रति श्रद्धा सुमन अर्पण तथा प्रहरी पुनर्मिलन कार्यक्रममा नेपाल प्रहरीको आमन्त्रणलाई सहर्ष स्वीकार गरी पाल्नु भएका सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको गरिमामय उपस्थिति एवम् सारगर्वित सम्बोधनका लागि हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु । सम्माननीयज्यूको संरक्षकत्वलेनेपाल प्रहरीका तमाम सदस्यहरूमा देशभक्ति र कर्तव्यबोधकोउर्जा संचार भएको कुरा समेत निवेदन गर्दछु ।

यसैगरी बिशिष्ट अतिथीको आमन्त्रण स्वीकार गरी पाल्नु भएका माननीय गृहमन्त्री ज्यूप्रति हार्दिकआभार व्यक्त गर्नचाहन्छु। साथै संवैधानिक अङ्गका माननीय प्रमुखज्यूहरू, माननीय महान्यायाधिवक्ताज्यू, माननीय सदस्यज्यूहरू, श्रीमान् प्रधान सेनापतिज्यू, श्रीमान गृहसचिब ज्यूलगायत अन्य विशिष्टव्यक्तित्वहरूप्रति उपस्थितिका लागि हार्दिकआभारप्रकटगर्नचाहन्छु।

वीर, अमर प्रहरीप्रति श्रद्धा-सुमन अर्पण गर्ने आजको यस विषेश क्षणमा राष्ट्र र नागरिक सेवाका खातिर प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण प्रात स्मरणीय वीर अमर प्रहरीहरुप्रति संगठन र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अमर आत्माहरुको चीर शान्तिको कामना गर्दछु । यस अवसरमाअमर प्रहरीका परिवारका सदस्यहरु एवम् सन्नतिप्रति उच्च सम्मान प्रकट गर्दछु। साथै कर्तव्य पालनाको दौरानमा घाइते तथा शारीरिक रुपमा अशक्त हुनुभएका सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु ।

राष्ट्रले सुम्पिएको जिम्मेवारी चाहे त्यो चुनौतीपूर्ण नै किन नहोस् त्यस क्षणमामुलुक र नागरिक सेवामा जीवन समर्पित गरी संगठनको गरिमालाई उँचो तुल्याउन महत्वपूर्ण योगदान पुर्याणउनु हुने हाम्रा श्रद्धेय अग्रजहरुका सत्प्रयाशको स्मरण गर्दै हार्दिक कृतज्ञता समेत व्यक्त गर्दछु ।

हाम्रो आमन्त्रण स्वीकार गरी पाल्नु हुने निजामति, नेपालीसेना, सुरक्षा निकायका बहालवाला तथा निवृत्त उच्चपदाधिकारी तथा सम्पूर्ण आदरणीय अतिथिजन, वीर अमर प्रहरीका आदरणीय परिवारजन तथा संचारकर्मी मित्रहरुमा पनि यहाँहरुको उल्लेख्य उपस्थितिका लागि हार्दिक धन्यबाद व्यक्त गर्न चाहन्छु।

सम्माननीय प्रधानमन्त्रीज्यू, प्रहरी यही समाजको एउटा हिस्सा हो र यसले समाजलाई प्रतिबिम्बित गरिरहेको हुन्छ । गतिशील समाजको विकास र परिवर्तनको गतिसंगै प्रहरी संगठनको समेत विकास र सुदृढीकरण हुन जरुरी छ । यहि आवश्यकतानुसार सांगठनिक विकासको लागि नेपाल प्रहरी निरन्तर प्रयासरत रहेको छ र यसको परिणामस्वरुप प्रहरीको सेवा हिजो भन्दा आज थप परिष्कृत, उत्तरदायी र सेवामुखी हुँदै गएको छ ।

आज अपराध अकल्पनीय रुपले संगठित, अन्तर्देशीय एवं जटिल हुँदै गईरहेको छ । अपराध गर्ने व्यक्ति वा आपराधिक समूहले अपराध गर्ने परम्परागत शैलीलाई छोडेर प्रबिधिको अत्याधिक प्रयोग गरिरहेका छन् । लागूऔषध, मानव बेचविखन, अवैध हात-हतियार ओसारपसार, बहुमुल्य सामाग्रिको तस्करी, ओखाटोपहार तस्करी जस्ता अपराधहरु समग्र विश्व समुदाय र सभ्य समाजको लागि नै चुनौतिको रुपमा देखापरेका छन् ।

आज हरेक अपराध गर्न सूचनाप्रविधि, सामाजिक सञ्जाल आदिको दुरुपयोग भइरहेको छ । अपराध घटेको क्षणभरमै प्रहरीले अपराधीलाई कानूनको कठघरामा ल्याउन सफल होस् भन्ने समाजको अपेक्षा रहेको हुन्छ । सूचना प्रविधी र सामाजिक सञ्जालमा क्रमश: अभ्यस्त बन्दै गईरहेका आजका नागरिकमा यस्ता अत्याधुनिक प्रविधीबाट प्राप्ता रफ्तार (speed) ले प्रहरी सेवा प्रतिको अपेक्षालाई झनै बढाईदिएको छ ।

यद्यपि यस्ता प्रविधिजन्य अपराधको सफल अनुसन्धानका लागि विभिन्न विकसित मुलुकमा अवस्थित फेसबुक, ट्वीटर र भइबरजस्ता बहुराष्ट्रिय कम्पनीहरुबाट अपराध सम्बन्धि सूचना प्राप्त गर्न जरूरी हुन्छ ।

यस प्रकारको सहयोग प्राप्त गर्ने प्रकृया अत्यन्त जटिल हुने र यसलाई लामो समय समेत लाग्ने गर्दछ । कतिपय सन्दर्भमा सेवाप्रदायक बहुराष्ट्रिय कम्पनिले सूचना प्रवाह गर्न ईन्कार गर्ने जस्ता समस्या अनुसन्धानकर्ताले दैनिक रुपमा भोग्नुपर्ने यथार्थ हुन् ।

हरेक किसिमका अपराध हुन प्रविधिको प्रयोग भइरहेको सन्दर्भमा एकातर्फ प्रहरीले क्षणभरमै अपराधी पत्ता लगाओस भन्ने बढ्दो नागरीक अपेक्षा छ भने अर्कोतर्फ स्वदेशमै रहेका प्राविधिक (टेलिकम) सेवा प्रदायकहरुबाट समेत अनुसन्धानमा अत्यावश्यक प्राविधिक सूचना प्राप्त गर्न लामो समय कुर्नुपर्ने र यसको लागी जटिल प्रकृया अपनाउनुपर्ने बाध्यताबिच हामी द्रुत एवं प्रभावकारी अनुसन्धान गर्नेतर्फ कर्तव्यरत छौं ।

नेपाल प्रहरीले आफ्ना सांगठनिक प्राथमिकताहरु निर्धारण गरेको छ, ती प्राथमिकताहरुमा संगठित अपराध, जघन्य अपराध र महिला तथा बालबालिका बिरुद्धका अपराधिक घटनाको द्रुत एवं प्रभावकारी अनुसन्धान प्रमुख छन, यसको अक्षरश: पालनाले आगामी दिनमा यस्ता अपराध न्यूनिकरण हुने बिश्वास दिलाउन चाहन्छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
अपराध रोकथाम र शान्ति सुरक्षा कायम राख्ने कार्यमा नागरिक र समुदायको महत्वपूर्ण भूमिकालाई मनन् गर्दै समुदाय-प्रहरी साझेदारी प्रणाली स्थापित गरिएको छ । स्थानीय तह, विद्यालय, सामाजिक संघसंस्था र नागरिकसंग सहकार्य गर्ने राष्ट्रव्यापी दीगो संयन्त्र स्थापना गरिएको छ ।देशभर २३,००० भन्दा बढी साझेदारी समितिहरू निर्माण भई अपराध सचेतना र शान्ति सुरक्षा कायम राख्न योगदान पुर्यासई रहेका छन् ।

समुदाय-प्रहरी साझेदारी प्रारम्भ भएको करिब १ वर्षको अवधिमा ७३ लाख भन्दा बढी नागरिकहरुसंग प्रहरीले व्यवस्थित अन्तरक्रिया एवं अपराध रोकथाम सम्बन्धमा सचेतना जागृत गरेको छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू,
अव अमर एवं वीर प्रहरीका परिवार, अशक्त प्रहरी, सेवानिवृत्त एवं सेवारत प्रहरी कर्मचारीहरुको सुविधा अभिबृद्धी गर्न नेपाल प्रहरीले आगामि वर्षको लागि तर्जुमा गरेको कल्याणकारी योजनाको खाकालाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।

१. अशक्त प्रहरीहरुको सन्ततीहरुलाई छात्रवृत्ति:कर्तव्य पालनाको सिलशिलामा अशक्त भएका प्रहरी कर्मचारीको एक जना सन्ततीलाई कक्षा ६ देखी स्नातक तहसम्मको अध्ययनका लागि वार्षिक रु.३ हजार ६ सयका दरले अशक्त प्रहरी सन्तती छात्रवृत्ती प्रदान गरिने छ ।
२. नेपाल प्रहरी अस्पतालमा जेष्ठ प्रहरी उपचार आश्रयस्थलभवन निर्माण :काठमाडौं वाहिरबाट उपचारको लागि आउने पूर्व प्रहरी कर्मचारीहरूलाई उपचार अवधिभरिवासस्थानको व्यवस्था गर्न नेपाल प्रहरी अस्पताल हाताभित्र ज्येष्ठ प्रहरी आश्रयस्थल भवन निर्माण गरिने छ ।
३. सहिद प्रहरी परिवारको छोरीको विवाहको लागिविवाह अनुदान : नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको शिलशिलामा वीरगती प्राप्त सहिद प्रहरीकासन्ततिहरू मध्ये एक जना छोरीको शुभ बिवाहमा संस्थागत अविभावकत्व बहन गर्दै प्रहरी कल्याण कोषबाट रु.३० हजार अनुदान उपलब्ध गराईने छ ।
४. प्रहरी सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न सहुलियतपूर्ण ऋण सुविधा :वहालवाला तथा अवकास प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरुलाई चिकित्सा शास्त्र, ईन्जिनियरिङ, सुचना प्रविधि, कृर्षी र वन बिज्ञान जस्ता प्राविधिक बिषयहरुमा अध्ययन गर्न सहयोग पुर्याउन सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराईने छ ।
५. वहालवला प्रहरीका सन्ततीहरुलाई नि:शुल्क शिक्षा : बहालवाला प्रहरी जवान, प्रहरी हवल्दारतथा जुनियर प्रहरी अधिकृतका एक जना छोरीलाई माध्यामिक तहसम्मको शिक्षा नि:शुल्क गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रकृया अगाडी बढाईने छ ।
६. औषधी उपचारमा थप सहयोग :अवकाश प्राप्त प्रहरी कर्मचारीहरुलाई मुटु, मृगौला, क्यान्सर जस्ता गम्भीर रोग लागेको अवस्थामा औषधी उपचारमा सहयोग पुर्या,उन नेपाल प्रहरी अस्पताल मेडिकल बोर्डको सिफारिसमा रु.१ लाख सम्म अनुदान उपलब्ध गराउदै आईरहेकोमा सोही किसिमका रोगहरुबाट पीडित बहालवाला प्रहरी कर्मचारीहरुलाई समेत यही प्रकृयाबाट रु.१ लाखसम्म औषधी उपचार अनुदान उपलब्ध गराईने छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रहरी काम कारवाहीका क्रममा व्यावसायीकता प्रदर्शन नगर्ने, अनियमिततामा संलग्न प्रत्येक प्रहरी कर्मचारीलाई कारवाहीको दायरामा ल्याएर जवाफदेहिता र शुद्धिकरणको अभियानलाई थप सशक्त बनाईएको छ । साथै, आर्थिक अनुशासन विपरीतका कृयाकलापलगायत अन्य गैर व्यावसायिक क्रियाकलापविरुद्ध संगठनले लिएको शून्य सहनशीलताको नीति अक्षरश: पालना गर्न मैले सम्पूर्ण प्रहरी कर्मचारीलाई पटक-पटक स्पष्ट निर्देशन दिने गरेको छु भनेत्यस्ता कृयाकलापहरुले संगठनभित्र कुनै स्थान पाएमा कालान्तरमा संगठनलाई नै दुषित तुल्याउने हुँदा त्यस्ता प्रवृत्तिको पहिचान र निदानका लागि म ज्यादै दृढ रहेको छु ।

भूमिगत समूहका आवरणमा हुने अपराधिक क्रियाकला पनि स्तेज छन्, अपहरण जस्ता जघन्य घटनाहरू न्यूनभएका छन्। विध्वंसात्मक गतिविधिमा संलग्नसमूह उपर कडा निगरानी, पक्राउ र प्रभावकारी अनुसन्धानको माध्यमबाट हिंसा नियन्त्रण गर्न नेपाल प्रहरीका ७५,००० कर्मठ सिपाही अहोरात्र खटिएका छन्। र यसको परिणाम हामी सवैले महसुस गरेकै छौं ।

भिजिट नेपाल ट्वन्टी ट्वन्टी (Visit Nepal 2020 )को राष्ट्रिय अभियानलाई सफल पार्न पर्यटक र समग्र पर्यटन उद्योगको सुरक्षा अत्यन्त सन्वेदनशिल र महत्वपूर्ण विषय हो । यस नेपाल भ्रमण वर्षको दौरानमा भरपर्दो सुरक्षा व्यवस्था कायम राखी विश्व पर्यटन समुदायमाझ नेपाल एक आकर्षक एवं सुरक्षीत गन्तव्यको रुपमा रहेको सन्देश दिनपर्यटक प्रहरी र नेपाल प्रहरीका सम्पूर्ण ईकाईहरु पूर्ण रुपलेप्रतिबद्ध रहेको सम्माननीय प्रधानमन्त्रिज्यू समक्ष जाहेर गर्न चाहन्छु ।

नेपाल प्रहरी संगठन कानुनी राज्यको अवधारणालाई सर्वोपरी रुपमा अंगिकार गर्दै शान्ति तथा अमनचयन र सामाजिक सद्भाव कायम राख्ने एवंअपराध रोकथाम तथा अनुसन्धान गर्ने आफ्नो आधारभूत दायित्वबाट कहिल्यै विमुख नभएको तथ्य स्मरण गर्दै नेपाल सरकार र गृह मन्त्रालयबाट आगामी दिनमा यसको संस्थागत विकास र आधुनिकिकरणको लागि अझ सशक्त नेतृत्वदायी भूमिका निर्वाह हुनेछ भन्ने विश्वागस लिएका छौं ।

आफ्नो कलमद्वारा हामीलाई निरन्तर घच्घच्याइरहने र नागरिकहरुको तर्फबाट खवरदारी समेत गर्नुहुने राज्यको चौथो अंग मिडियाकर्मी साथिहरुलाई समेत यसै अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु; गुणस्तरीयप्रहरी सेवा प्रवाहमा यहाँहरुबाट भएको योगदानको समेत प्रशंसा गर्दछु ।

अन्तमा, आजकोयसकार्यक्रममापाल्नुभएकाप्रमुखअतिथि सम्माननीय प्रधानमन्त्री के. पि शर्मा ओलीज्यू लगायत सम्पूर्ण विशिष्ट महानुभावहरुमा पुन:आभार प्रकट गर्दै आफ्नो समुपस्थितिद्वारा यस कार्यक्रमको गरीमा बढाईदिनु भएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
धन्यवाद, जय नेपाल ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.