आठ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने तीन पक्राउ

रिपोर्ट नेपाल | 2019 May 29 | 02:40 pm 3606

पर्सामा आठ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबारदेखि हराएका वीरगञ्ज- ३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको शव बुधबार बिहान फेला परेपछि बालकको हत्या भएको खुलेको हो।

शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणबाट भाग्न खोजेपछि बुधबार बिहान करिब २ बजे गोली समेत चलाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारत घर बताउने वीरगञ्ज प्रगतिनगर डेरा गरी बस्ने २१ वर्षीय विकाश शर्मा, बारा कलैया उपमहानगरपालिका १ बस्ने वर्ष २२ का सिकेन्द्र साह तेली र २१ वर्षीय राम विनेश महतोलाई नियन्त्रणमा लिएको हो।

वीरगञ्ज ३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोरा करण साह शुक्रबार घर अगाडि खेलिरहेको अवस्थाबाट हराएका थिए। त्यही दिन राति नचिनेको नम्बरबाट फोन गरी फिरौती माग भएको थियो। फिरौती माग भएपछि साह परिवारले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै बालकको खोजी सुरु गरेको थियो।

‘५० लाख देखि बार्गेनिङ गरेर ३० लाख रुपैयाँ दिए बालक फिर्ता गर्ने धम्की पीडितलाई आएको रहेछ। बालक मार्नुअघि रेकर्ड गरेको अडियो सुनाएर पीडितसँग बार्गेनिङ समेत गरेको पाइयो,’ प्रहरी प्रमुख पालले भने।

अडियोमा बालकले आफ्ना बाबुलाई ‘बाबा पैसा दे दे’ भनेर रेकर्ड गरिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले मंगलबार फोन रेकर्डका आधारमा तीनै जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूले बालक अपहरण गरेसँगै घाँटी थिची हत्या गरेको प्रहरीसामु स्वीकार गरेका थिए।

प्रहरीले बुधबार बिहान बालक हत्या गरेको स्थान खोज्दै जाँदा कलैया उपमहानगरपालिका २५ खौराही खोलाको झाडीमा बालकको शव फेला परेको थियो। शव देखाउन प्रहरीसँगै रहेका विकाश शर्मा र सिकेन्द्र साह तेली भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाइएको डिआइजी पालले बताए।

उनीहरूको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। गोली लागेका दुई जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएकामध्ये एक छिमेकी हुन्। बेलाबेलामा झगडा हुने गरेकोले निजलाई तह लगाउनु पर्‍यो र पैसा पनि कमाउनु पर्‍यो भनी विकाश शर्माले सिकेन्द्र र राम विनेशलाई भनेपछि अपहरण गर्ने योजना बनाइएको प्रहरीको दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.