आजैदेखि केको चिन्ता ?

| 2023 Sep 11 | 06:44 am 1857

काठमाडौँ,भदौ २५।

एक अत्यन्त सम्पन्न तथा मान, सम्मान र प्रतिष्ठा आर्जन गरेका मुखिया थिए । उनकी एक छोरी थिइन् । उनी अत्यन्त धर्मपरायण थिइन् । साथै, उनी वैराग्यपूर्ण भावनाबाट ओतप्रोत थिइन् । छोरीको त्यस्तो विरक्तपूर्ण भाव देखेर मुखियाले उनको विवाह एक अत्यन्त ज्ञानी सन्तसित गरिदिए । उनी छोरीको धर्मपरायण भावमा कुनै ठेस पुर्‍याउन चाहँदैनथे । छोरीले आफ्नो इच्छाअनुसार जीवन व्यतीत गर्न सकून् भन्नेमा उनी पूर्णतः सचेत थिए ।

विवाहपछि महलमा हुर्किएकी मुखियाकी छोरी सन्तको कुटीमा आइपुगिन् । उनी खुसीखुसी कुटीको सरसफाइमा जुटिन् । सरसफाइको क्रममा उनले कुटीको छानामा दुईवटा सुक्खा रोटी घुसारिराखेको देखिन् । अचम्म मान्दै उनले पतिसित त्यसको कारण सोधिन्– यी रोटी हजुरले यहाँ किन राख्नुभएको हो, पतिदेव ?

सन्तले जवाफ दिए– आज त हामीले तिम्रा मातापिताको घरमै मीठो मसिनो खाएर आइहाल्यौँ । अब भोलि फेरि कताबाट खानेकुरा जुटाउनु ? त्यसैले, मैले भोलि एउटा– एउटा रोटी खाएर गुजारा गरौँला भनेर त्यसलाई त्यहाँ राखेको हुँ ।

पतिको कुरा सुनेर उनी मुसुक्क मुस्कुराइन् र भनिन्– मेरा पिताले त हजुरलाई निकै ठूला वैरागी तथा अपरिग्रही सन्त ठानेर मेरो विवाह गराइदिनुभएको थियो । तर, हजुर त भोलिका लागि आजैदेखि चिन्ता गर्नुहुँदोरहेछ । आजैदेखि भोलिको चिन्ता गर्ने मान्छे सच्चा सन्त हुन सक्दैन । भोलिको चिन्ता त घाँस खाने जनावरले समेत गर्दैनन् भने हामी त मान्छे हौँ । केही भेटियो भने खाउँला, नभेटिए भगवान्को नाम लिएर बसौँला । भोलिका लागि बेकारमा आजैदेखि चिन्ता लिएर किन आफैँलाई दुःखी बनाइरहनु ?

सन्तले आफ्नी पत्नी आफूभन्दा पनि दश कदम अघि रहेको महसुस गरे । उनी मनमनै पत्नीप्रति नतमस्तक भए । प्रकटमा उनले भने– तिमीले मेरा आँखा खोलिदियौ । तिमी धन्य छ्यौ ।

(नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.