-
शंकर रिखाम मगर
उदयपुर फागुन, १६ः रौता स्पोर्टस् क्लव मुर्कुचीको आयोजनामा आयोजित प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा आज दोस्रो दिन भएको खेलमा आयोजक रौता स्पोर्टस् क्लव मुर्कुचीलाई गोलबजार स्पोर्टस् क्लब सिरहाले १ गोलको विरुद्ध ३ गोलले पराजित गरी अग्रता कायम गरेको छ ।

राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र शिक्षाका लागि खेल भन्ने मुल नाराका साथ आयोजित दोस्रो दिनको फुटबल खेल प्रतियोगिता खेल सुरु भएको ११औं मिनेटमा गोलबजार स्पोर्टस् क्लब सिराहाका खेलाडी जर्सी नम्बर ११ विनु आले मगरले पहिलो गोल हानी अग्रता लिएका थिए । त्यसैगरी खेलको २५औं मिनेटमा रौता स्पोर्टस् क्लब मुर्कुचीका खेलाडी जर्सी नम्वर १० आशिष कार्किले जवाफी १ गोल फर्काउदै मध्यान्तर अगाडिको पहिलो चरणको खेललाई बराबरीमा रोकेका थिए ।
मध्यान्तर पछि दोस्रो खेलको १५औं मिनेटमा गोलबजारका खेलाडी जर्सी नम्वर ११ विनु आले मगरले पुनः १ गोल थपी टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी २८औं मिनेटमा गोलबजारकै अर्का खेलाडी जर्सी नम्वर ५ सुजित मगरले १ गोल थपी १ को विरुद्ध ३ गोल हान्दै आजको खेलबाट आफ्नो टिमलाई अग्रता दिलाएका छन् ।

आजको खेलमा म्यान अफ दि म्याच विनु आले मगर घोषित हुँदै नगद १ हजार रुपैयाँ सहित मेडल रौता स्पोर्टस् क्लवका अध्यक्षबाट प्रदान गरिएको थियो ।
भोली तेश्रो दिनको खेल भने दिउँसो ३ बजेबाट आदर्श युवा क्लब नेपालटार उदयपुरगढी र गाइघाट फुटबल क्लब उदयपुर बीच हुने आयोजकले बताएको छ ।