आज १४औं गणतन्त्र दिवस औपचारिकताका साथ मनाइँदै

रिपोर्ट नेपाल | 2021 May 29 | 08:00 am 1897

काठमाडौं, जेठ १५: आज १४औं गणतन्त्र दिवस काेराेना महामारीका कारण याे दिवस सामान्य औपचारिकताका साथ मनाइँदै छ।

अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गर्थ्यो ।

गत वर्षको गणतन्त्र दिवसमा पनि काेराेनाले गर्दा यस्तै अवस्था थियो । यस पटक पनि कोरोना सङ्क्रमणको जोखिमकै कारण कुनै विशेष कार्यक्रम राखिएको छैन ।

संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइने गरिएको हो।

झन्डै २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।

गणतन्त्र घोषणा भएका १३ वर्ष बितेर गए पनि मुलुक र जनताले उल्लेख्य प्रगतिको आभाससम्म गर्न पाएका छैनन् । गणतन्त्रपछिका करिब ७ वर्ष संविधान बनाउने कचिंगलमै बितेर गएका थिए । पहिलाे संविधानसभा विना उपलब्धि असफल भएपछि जनतामा थप निराशा चुलिएकाे थियाे ।

तर दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएपछि र मुलुक संघीयतामा गएपछि सर्वत्र खुसीयाली र नयाँ आशा छाएको थियो । तापनि त्यसयता समेत सत्ताकै लागि राजनीतिक दलहरुमा हानाथाप जारी रहेकाले मुलुकमा स्थिरता समृद्धिको आशा निरर्थक भइरहेको छ । पछिल्ला वर्ष मुलुकमा अराजकता, भ्रष्टाचार तथा दण्डहीनता समेत बढ्दै गएर जनतालाई थप निराश बनाइरहेको विश्लेषण भइरहेको छ ।

यसअघि गणतन्त्र दिवसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी ओलीले देशबासीको नाममा सम्बोधन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.