आज प्रभु येशुको जन्मोत्सव (क्रिसमस डे), राष्ट्रपति भण्डारीद्वारा शुभकामना

रिपोर्ट नेपाल | 2019 Dec 25 | 07:48 am 1447

काठमाडौं, पुस ९: आज प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् ।यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँने गर्दछन् ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।

जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । हाल नेपालमा १२ हजार ५ सय चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अध्यक्ष सिबीले बताए ।

हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । साथै ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

राष्ट्रपतिद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’का अवसरमा आज एक शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संम्वर्दन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ ।

‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने पनि उनले कामना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.