काठमाडौं, भदौ १७: नेपाल चिकित्सक संघले आइतबार (आज) सरकारी तथा निजी अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ।
संघले सरकारले मुलुकी अपराध संहिता २०७४ को ‘इलाजसम्बन्धी कसुर’ सच्याउने प्रतिबद्धता पूरा नगरेको भन्दै शनिबार आन्दोलनका पाँच बुँदे कार्यक्रम घोषणा गरेर आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्न आह्वान गरेको हो।
संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारलाई दिएको १५ दिनको अल्टिमेटम सकिएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए। अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले १५ दिनभित्र संहिता संशोधन गर्ने प्रतिबद्धता जनाएको थियो तर प्रतिबद्धता पूरा गरिएन, आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्छौं।’
सरकारले मागबारे अझै बेवास्ता गरे शुक्रबारबाट भने प्रशासन, ल्याब तथा सबै किसिमका शल्यक्रियासमेत बन्द गर्ने चेतावनी दिएको छ। संघका देशभरका १६ शाखाबाट संकलित चिकित्सक लाइसेन्स (मेडिकल काउन्सिल प्रमाणपत्र) समेत नेपाल मेडिकल काउन्सिलमा फिर्ता गरिने अध्यक्ष श्रेष्ठले बताए ।
‘देशभरबाट ५ हजार बढी लाइसेन्स जम्मा भएको छ, हामी चिकित्सक लाइसेन्स नै फिर्ता गर्ने गरी अघि बढेका छौं,’ अध्यक्ष श्रेष्ठले भने। कानुनमा चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएमा पाँच वर्षसम्म कैद र ५० हजार जरिमाना तथा हेलचेक्र्याँइले मृत्यु भएमा तीन वर्ष कैद र ३० हजार जरिमानाको सजाय तोकिएको छ।
संघले भने सजाय हुने व्यवस्था संशोधन गरेर लापर्वाही भए नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाएर छानबिन गर्नुपर्ने शब्द थप गर्न माग गर्दै आएको छ। यस्तै काममा खटिएका बेला स्वास्थ्यकर्मीलाई हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई संशोधन गरी बिनाधरौटी हिरासतमा राख्न व्यवस्था सुनिश्चित गर्न पनि संघले माग गरेको छ ।
संघले आइतबार चिकित्सकको लाइसेन्स मेडिकल काउन्सिललाई फिर्ता गर्ने तयारी गरेको छ। त्यसअघि माइतीघर मण्डलामा जम्मा भएर विरोधका कार्यक्रम गर्ने संघको तयारी छ । काउन्सिलको तथ्यांकअनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्।
यसअघि संघले १ भदौबाट नै बिरामी नजाच्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। तर सरकारले संहिता संशोधन गर्ने प्रतिबद्धता जनाएपछि ३१ साउनमा आन्दोलनका कार्यक्रम फिर्ता गरिएको थियो।