आचार्य बालकृष्णलाई विष खुवाएको तथ्य फेला

रिपोर्ट नेपाल | 2019 Aug 29 | 07:17 am 1528

काठमाडौं, भदै १२: आचार्य बालकृष्णलाई उनीनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ। केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो।

कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ। आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किनुभएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई. शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको बताए।

पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिनुभएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए। उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। करिब दुई दिनसम्म उपचार गरी निवास फर्किएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले जानकारी दिए।

भर्ना भएपछि भारतभर आचार्यको स्वास्थ्यलाभको कामना गर्दै उच्च तहका राजनीतिक नेता उनको निवास आउने गरेका छन्। मन्त्रीदेखि उच्च राजनीतिक तहका नेता उनलाई भेट गर्न हरिद्वार पुगेका थिए।

सिंहका अनुसार अहिले उनलाई भेट गर्न आउने अधिकांशलाई आफैले भेट गरी आफ्नो स्वाथ्य अवस्थाबारे जानकारी दिने गरेका छन्। अहिले उनको रेखदेख बाबा रामदेव र केही विशेष कर्मचारीले गरिरहेका छन्।

उनलाई भेट गर्न पूर्वमन्त्री उमा भारतीलगायतका भारतीय जनता पार्टीका उच्च तहका नेता, मुस्लिम र हिन्दू धर्मगुरुहरू हरिद्वार आउनुभएको थियो। बालकृष्णको पछिल्लो अवस्थाबारे भारत सरकार चिन्तित देखिएको छ। उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

भेट गर्न आउने कसैले पनि ल्याएको खानेकुरा नखान सल्लाह दिएपछि उनले कसैले पनि दिएको खानेकुरा नखाने गरेका छन्। अहिले त भान्छामा आफू निकटका अति विश्वासिलो कर्मचारीबाहेक अन्यलाई प्रवेश गर्नसमेत कडाइ गरिएको छ।

भेट गर्न निवास पुग्ने गरेका अधिकांशलाई भेटघाट कक्षबाहेक अन्य स्थानमा प्रवेशमा रोक लगाइएको छ। उता हिन्दू रक्षा बाहिनीले हरिद्वारमा पत्रकार सम्मेलन गरी पेडामा विष मिसाएर खान दिने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ। बाहिनीले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनको हत्या प्रयास गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ।

पतञ्जलीका महासचिवसमेत रहेका आचार्य बालकृष्णको हत्या प्रयासको विषयमा बाहिनीले भारतको विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिरहेको ट्रस्टी सिंहले जानकारी दिए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.