आगो निभाउन पानीबिनाको दमकल पुगे

रिपोर्ट नेपाल | 2018 Nov 11 | 02:53 pm 1494

बैतडी, कात्तिक २५ :  बैतडीमा बिनापानीको दमकल राखिने गरिएको पाइएको छ। पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आइतबार बिहान आगलागी हुँदा बिनापानीको दमकल आगो निभाउन पुगेको छ।

स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ। बिहान साढे चार बजे घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।

आगलागी भएको खबर पाउनेबित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुर्‍याएको भए पनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको स्थानीय राजेन्द्र विष्टले बताए। स्थानीय,प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयवासीहरुले असन्तुष्टि जनाएका छन्। तर दमकल चालक विनोद केसीले भने दमकलमा पानी रहेको दाबी गरेका छन्। उनले भने, ‘दमकलमा पानी थियो तर पम्पले हावा९एयर० लियो, त्यसैले हावा निकाल्न खोला गएको हुँ ।’

पानीबिनाको दमकल घटनास्थल पुगेपछि स्थानीय बासिन्दा आक्रोशितसमेत भएका थिए। गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्‍मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको हो। आगालागी के कति कारणले लागेको हो भन्ने खुल्न सकेको छैन यद्यपि छिमेकी कसैले आगो लगाएको हुनसक्ने पीडित परिवारका दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.