तेह्रथुम, फागुन २१ : तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज (मंगलबार) बिहान आगलागी भएको छ । आगलागीमा परी एक किशोरीको मृत्यु भएको छ ।
आगलागीबाट २० वर्षीया छोरी सम्झना कार्कीको आगोमा जलेर मृत्यु भएको हो । बिहान ६ः१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए ।
आगोमा परी गम्भिर घाइते भएका आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताएका छन् ।
आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।