आईजीपीको ठाडो आदेशमा १५ सयको घरजग्गा कब्जा गर्ने राजपा केन्द्रीय सदस्य यादव पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 08 | 03:45 pm 2026

काठमाडौं, पुस २३ : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालकाे ठाडो आदेशपछि १५ सय जनाको घरजग्गा कब्जा गर्ने राजपा केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ परेका छन् । घरजग्गा कब्जा गरेको आरोपमा सर्लाही प्रहरीले केन्द्रीय सदस्य यादवलाई नियन्त्रणमा लिएको हो ।

सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति हुन् ।

यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो । यादव र रौनियारबाट १५ सय जना पीडित रहेको स्थानीयले बताएका छन् ।

यादवमाथि जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.