आइजीपीको आदेशलाई बेवास्ता गरिँदै

| 2020 Nov 24 | 03:38 pm 2391

वीरगञ्ज, मंसिर ९ः जिल्ला प्रहरी कार्यालय पर्साको लागि अपराध नियन्त्रण गर्न भन्दै सूचना संकलनका लागि सादा पोशाकमा खटाइएका घुमुवा प्रहरीले त्यहाँका तस्करसँग मिल्दै सेटिङ चलाएको थाहा पाएपछि प्रहरी महानिरीक्षक शैलेस थापाले निलम्बन देखि काज आदेससम्म गरेका छन् ।

जिल्लाकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका घुमुवाहरु एकपछि अर्को विवादमा पर्दै गएपछि महानिरीक्षक थापाले प्रहरी निरीक्षक रबीभुषण यादवबाट कारबाहीको लौरी चलाए पनि पछिल्लो समय पर्साकी उपरीक्षक गंगा पन्तले महानिरीक्षक थापाको निर्देशनलाई अटेर गरेकी छिन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार लामो समय ३ नम्बर प्रदेशको घुमुवा रहेका हवल्दार सुरेन्द्र साहको विषयमा महानिरीक्षक थापा कहाँ उजुरी ओइरो गएपछि साहलाई गोर्खा लखेटिएको थियो । गोर्खा गएको पच्चिस दिन नपुग्दै राम्रो पैसा बुझाएर वीरगञ्ज काज बनाएका हवल्दार सुरेन्द्र साहलाई तुरुन्त दरबन्दीमा पठाउन महानिरीक्षक थापाले निर्देशन दिएपनि उपरीक्षक पन्तले निर्देशन पालना गरेकी छैनन् ।

निर्देशन दिएको १० दिन नाघिसक्दा पनि साह पन्तकै घुमुवाका रुपमा मंगलबार विहानसम्म धम्काउँदै हिडेका छन् ।

दर्जामा हवल्दार रहेका साहलाई उपरीक्षक पन्तले कुखुराको पोथीले चल्ला च्यापे जस्तै च्यापेर राख्नुको पछि के रहस्य छ बुझ्न सकिएको छैन ।

सुन तस्करलाई समाउन र समाएपछि गायब पार्न माहिर भनेर प्रचारित साहलाई रमना दिनुले उपरीक्षक पन्त माथि अनेक आशंका गरिएको छ ।

स्मरण रहोस जिल्ला प्रहरी कार्यालय पर्साकै घुमुवा प्रहरी नायब निरीक्षक बैधनाथ दासको अडियो सहित उजुरी परेपछि उनलाई निलम्बन गरिएको छ ।

त्यसै गरी प्रहरी महानिरीक्षक शैलेस थापाले काज आदेश गरेका प्रदेश दुईका घुमुवा प्रहरी नायब निरीक्षक त्रिभुवन साहको ताप्लेजुङ र प्रहरी नायब निरीक्षक जयलाल यादवलाई खोटाङ काज आदेश गरेपनि उनीहरु यो समाचार तयार गर्दासम्म घुमुवाकै रुपमा मालपानी फिटिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.