- कपिल ज्ञवाली
बुटवल १० चैत्र : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता छविलाल विश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाई स्थायी बनाउन ढिला गर्न नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद समेत रहेका विश्वकर्माले अहिले कायम रहेका ७ वटै मुकामलाई स्थायी र नामकरण गरिहाल्नुपर्ने बताएका हुन् ।
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ । ‘अब यस्लाइ चर्चा र बहसको विषय बनाउन जरुरी छैन,संसारले मानेको बुद्ध जन्मस्थल लुम्बिनी नै नामको लागि उत्तम छ,राजधानी त बुटवल माइन्डसेट भइसक्यो ।’ उनले भने ।

‘अब यहाँ पूर्वाधार पनि बनिसके, नाम पनि सर्वमान्य लुम्बिनी नै हो यसमा अब धेरै घुमाउरो कुरा गर्नुपर्ने,’ विश्वकर्माको भनाइ छ ।
सरकार विकास र समृद्धिको दिशातर्फ हिँडिरहेको भन्दै उनले विप्लवलाई गैर राजनीतिक गतिविधि गर्न छुट नभएको बताए ।
सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदा स्याबास पाउनुपर्ने भन्दै उनले सरकारको निर्णय ठिक भएको बताए ।
रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेको उनले सिके राउतलाई मूल धारको राजनीतिमा ल्याएर अखण्ड मुलुक बनाउने प्रयास गरिएको उल्लेख गरे ।