असिनाले म्याग्दीमा हिउँदे बाली नष्ट

| 2022 Jan 11 | 08:30 am 1921

म्याग्दी, पुस २७ः असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।

वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताए ।

यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैँचाको सुन्तला निकासी भए पनि केही मात्रामा सुन्तला टिपेर बजार पठाउन बाँकी थियो ।

हिउँ पर्नुको साटो बेमौसममा असिना परेकामा कृषकले अनौठो मानेका छन् । क्षतिको विवरण सङ्कलन र राहतको व्यवस्थाका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.