असिनाले तरकारीबाली नष्ट

रिपोर्ट नेपाल | 2021 Apr 17 | 07:33 am 1533

धनकुटा, बैशाख ४: छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’

उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालमा परेको उनको भनाइ छ। त्यसयता असिना परे पनि तरकारी बाली क्षति परेको थिएन। अर्का स्थानीय दीपक गुरुङको २० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ।

‘बिहीबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो’, गुरुङले भने, ‘शुक्रबार बिहान हेर्दा जग्गा मात्रै देखें।’ ३ लाख रुपैया नोक्सानी भएको उनले बताए।

अर्का किसान शेरबहादुर विष्टको १० रोपनी वारीमा बन्दाकोभी फलेको थियो। केही दिनभित्रै टिपेर बजार लैजाने उनको योजना थियो। तर असिनाले नष्ट गरि जमिनमै मिलाइदिएको दुखेसो उनले पोखे।

जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र हो, छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका। यी दुई स्थानीय तहमा असिनापानीले ३० करोड रुपैयाँबराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक तथ्यांक छ। छथरजोरपाटीका ६ र २ वडामा पूर्ण र १ र अन्य वडामा आंशिक क्षति पुगेको छ। प्रारम्भिक विवरण हेर्दा १५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि शाखा प्रमुख मिलन कार्कीले बताए। महालक्ष्मीका १, २, ३, ८ र ९ वडाका किसानले लगाएका तरकारी बालीमा असिनाले क्षति पुर्याउँदा १५ करोड रुपैयाँ नोम्सानी भएको प्रारम्भिक अँकडा आएको नगर प्रमुख पर्शुराम नेपालले बताए।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.